Logo

जनप्रतिनिधि

जनप्रतिनिधि बाढीपीडितका उद्धार र राहत वितरणमा व्यस्त



टीकापुर । कैलालीका बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधि बाढीपीडितको उद्धार र राहतमा व्यस्त रहेका छन् । कर्णाली नदीमा बाढी आएपछि कैलालीको टीकापुर नगरपालिका, जानकी, जोशीपुर गाउँपालिका र भजनी नगरपालिका डुबानमा परेका छन् । बाढीले टीकापुरका वडा नं २, ५ र ८ मा सयौँ घर डुबानमा परेका छन् । वडा नं २ मा रानीकुलो विभिन्न ठाउँमा फुटेर बस्तीमा पसेपछि विभिन्न बस्ती डुबानमा परेका वडा नं २ का वडाध्यक्ष दीपक चौधरी बताउछन् । “खतरामा छौँ, मूलपानी जाने बाटो नजिकै रानीकुलो ड्याम फुटेको छ । कटासे नजिकै जगतपुर र मिलनचोकमा रानीकुलो फुटेर बस्तीमा पसेकाले डुबान भएको छ”, उनले भने, “बन्दीपुर, कोठारपुर, विजयनगर, राजीपुर, सीतापुर डुबानमा परेकाले हामी उद्धारमा खटेका छौँ ।”

टीकापुरको वडा नं ५ मा पनि रानीकुलो बस्तीमा पसेको छ । यसका साथै शाहीपुरमा कर्णाली नदीको तटबन्ध भत्कने खतरा बढेकाले नागरिकलाई सुरक्षित राख्न विभिन्न प्रयास भइरहेका वडाध्यक्ष बलवीर चौधरीले जानकारी दिए । “उर्दिपुर, बङ्गालपुर, झन्टझटपुर मनिकापुर पूरै जलमग्न भएको छ”, उनले भने, “शाहीपुरमा कर्णाली नदीमा तटबन्ध फुट्ने खतरा बढेको छ । त्यसैले त्यहाँका बस्तीलाई उच्च स्थानमा सारिरहेका छौँ ।”

त्यस्तै टीकापुरको वडा नं ८ को वनगाउँबाट नदी बस्तीमा पसेको छ । वडा नं ८ को वनगाउँका नागरिकले तीन दिनदेखि घर छाडेका छन् । वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बाढीले नागरिकको सम्पत्ति र खेत सबै क्षति भएको बताए । “वडा पूरै डुबानको खतरामा छ । फाँटागाउँका मानिस सडकमा, कालिमाटी स्कुल, सूर्यपुर स्कुललगायतका ठाउँमा राखेका छौँ”, उनले भने, “यस वर्ष भोकमरी हुने निश्चित छ । नदी भङ्गालो बनाएर बस्तीमा पसेको छ ।”

जानकी गाउँपालिका वडा नं ९ मा पनि बाढी बस्तीमा पसेको छ । नदी बस्ती पस्नबाट रोक्ने पालिकाको अथक प्रयास सफल भएन । नदी बस्तीमा पसेपछि वडा नं ९ का केही परिवार विस्थापित भएका र उनीहरूको बसोबास तथा खानपानको व्यवस्था मिलाउन थालिएको अध्यक्ष गणेश चौधरीले बताए । “दर्जन बढी घर विस्थापित भएका छन् । अहिले पनि घर फर्कने वातावरण छैन”, अध्यक्ष चौधरीले भने, “पीडितलाई राहतमा खाद्यान्न दिएका छौँ । उहाँहरूको खानपानको व्यवस्थासमेत गरिएको छ ।”

कर्णाली नदीमा पानीको सतह बढेर विभिन्न वडामा बाढी आएपछि सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावल, टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारू, उपप्रमुख खड्कबहादुर शाह, प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाहीलगायत सबै पीडितको उद्धारमा खटेका छन् । बाढीपीडितलाई सुरक्षित स्थानमा सार्ने, उनीहरूको बसोबासको व्यवस्था मिलाउने, जोखिममा रहेकालाई सार्न स्थानीयवासीको सहयोग लिने काम भइरहेको छ ।

नदी बस्तीमा पसेपछि आइतबार सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री रावलले यस क्षेत्रका प्रभावित विभिन्न ठाउँको निरीक्षण गर्नुभएको छ । निरीक्षणपछि मन्त्री रावलले जिल्ला प्रशासन कार्यालय, मन्त्रालयअन्तर्गतको प्रादेशिक विपद् समितिलाई विपद्बाट जोगाउन राहत, उद्धारका कार्यमा जुट्न निर्देशन दिनुभएको छ । “आइतबार रातिदेखि नै म सुरक्षाकर्मी साथमा लिएर उद्धारमा खटेको छु । रातभरि प्रभावित क्षेत्रको अवलोकन गरेको छु”, उनले भने, “स्थिति भयाभह र दयनीय छ । सबैलाई राहत तथा उद्धारमा खट्न निर्देशन दिएको छु ।”

बाढीपीडित भन्छन्– ‘हामी नाङ्गै हुने भयौँ, लुगाफाटा पठाइदिनुस्’

बाढीका कारण कैलालीको भजनीका नागरिकलाई बढी समस्या भएको छ । असोज १ गते आएको बाढीले ठूलो क्षति व्यहोरेका भजनीका नागरिक पुनः १९ गते बाढी आएपछि थप पीडामा छन् । भजनीका नागरिक गाँस, बास, कपास सबै बाढीले खोसेको गुनासो गर्न थालेका छन् । भजनीका घरबाट विस्थापित भएका पीडितलाई शरीर ढाक्नसमेत समस्या भएको उनीहरुको गुनासो छ ।

एक साता सडकमा बसेर घर फर्किएका बाढीपीडित पुनः सडकमा आएको साता पुग्न थालेको छ । भजनी–८ की धनसरादेवी जैसीको परिवार छ दिनदेखि हुलाकी सडकमा छ । “घरबाट आउँदा जुन लुगा लगाएका थियौँ, त्यही लुगामा आजसम्म बसिरहेका छौँ, फेर्नका लागि अर्को लुगा छैन”, उनी भन्छन्, “तलबाट बाढीले चुट्यो, माथिबाट वर्षाले चुटेको छ । कोही सहयोगी, दाता हुनुहुन्छ भने हामीलाई पुराना लुगा भए पनि पठाइदिनुस्, हामी भोका नाङ्गा छौँ ।”

यही असोज १८ गतेदेखि सुरु भएको वर्षाले यहाँका नागरिकको जनजीवन अस्तव्यस्त बनाउनुका साथै बाढीपीडित परिवारको गुजारा चल्न समस्या भएको छ । खेमराज जैसीको परिवार पनि १९ गतेबाट हुलाकी सडकमा आश्रय लिएर बसिरहेको छ । उहाँको घर जलमग्न छ । घर जानसक्ने अवस्था छैन । सडकमा पालमुनि निकै कठिन भएको उनको गुनासो छ । “हामीलाई राहतमा खाद्यान्न, शरीर ढाक्न लुगा, सुत्नका लागि झुल पाएको भए बाँचिन्थ्यो कि”, उनले भने, “घर फर्कने वातावरण छैन, घरमा भएका सबै सामान भिजेर नष्ट भए । यहाँ सडकमा हामीले झेलिरहेका समस्या भनेर साध्य छैन ।”

सडकमै बसिरहनुभएका कम्मानसिंह विकको परिवारको अवस्था पनि दयनीय छ । बालबालिकासहित स–परिवार सडकमा पालमुनि बस्न कठिन भएको छ । खुला सडकमा लुगाकपडा, खानेकुराको अभाव भएकाले समस्या भएको उहाँ बताउनुभयो । “बच्चालाई सम्हाल्न बढी कठिन हुने रहेछ, बच्चा खान खोज्छन्, निरन्तर वर्षा भइरहेको छ । सडकमा पकाउने वातावरण पनि छैन”, कम्मानसिंहले भने, “वस्तुभाउसहित सडकमा बस्न कठिन छ । यस वर्षजस्तो पीडा कहिल्यै भएन, हामीलाई त दैवले ठग्यो ।”

थापापुरकी यज्ञदेवी जैसीको परिवार पनि सडकमा छ । खुला आकाशमुनि चिसो हावा चल्दा झन् कठिन भएको छ । खुला सडकमा लामखुट्टेको टोकाइ, लुगाको अभावमा सरकार भएको महसुससमेत नभएको उनको भनाइ छ । “यस्तो समस्या छ । हामी चिसोमा बसिरहेका छौँ, हामीलाई लुगाफाटा भए पनि दिएको भए राहत हुन्थ्यो”, उनले भने, “भिजेकै लुगा शरीरमा सुक्छन् तर हाम्रा लागि कोही सहयोगी आएनन् ।”

सडकमै बसिरहेकाहरू सबैको बिचल्ली छ । देवसरा विकको परिवार पनि १९ गतेबाट घर फर्कन सकेको छैन । उनको घर नदीजस्तै जलमग्न छ । सडकमा बसेकालाई आवश्यक लुगा, झुलजस्ता सामान पाए पनि राहत हुने उनी बताउछन् ।

भजनी नगरपालिकाका प्रमुख केवल चौधरी बाढीपीडितलाई आवश्यक खाद्यान्नको जोहो नगरपालिकाले गरिदिएको भए पनि मौसमका कारण खाना पकाएर खान सक्ने अवस्था नभएको बताए । “हाम्रो पालिकामा बेहाल छ, हामी पनि केही गर्न सक्ने अवस्थामा छैनौँ, हामी बाढीमा फसेकालाई उद्धार गर्ने कार्यमा खटेका छौँ”, उनले भने, “सडक तथा सेल्टरमा बसेकालाई खाद्यान्न उपलब्ध गराएका छौँ तर मौसमका कारण पकाएर खान सक्ने वातावरण छैन । निरन्तर पानी परिरहेकाले पीडितलाई खानपिनमा समस्या भएको छ ।” रासस

प्रकाशित मिति : आश्विन २५, २०७९ मंगलबार  ९ : १४ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।