Logo

प्रमुख समाचार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने तयारी, यी हुन् मुख्य एजेण्डा



काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक वैशाख अन्तिम साता बस्ने तयारी छ । बैठकमा गत फागुन (७—१०)मा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन, उपनिर्वाचनको समीक्षा र समसामयिक राजनीतिबारे छलफल हुने छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शीर्ष नेताहरू उपत्यका बाहिरबाट फर्किएपछि वैशाख अन्तिम साता केन्द्रीय समिति बैठक बस्ने बताए । ‘उपसभापति पूर्णबहादुर खड्का प्रशिक्षणका लागि डोल्पा जानु भएको छ । उपनिर्वाचनमा खटिनु भएको नेताहरू काठमाडौँ आइपुग्नु भएको छ,’ उनले भने, ‘महामन्त्री विश्वप्रकाश शर्मा इलामबाट झापा पुग्नु भएको छ । उहाँहरु काठमाडौँ फर्किएपछि केन्द्रीय समिति बैठक तय हुन्छ ।’

महामन्त्री गगन थापा पनि वैशाख अन्तिम सातासम्म अमेरिकाबाट फर्किने कार्यक्रम छ । केन्द्रीय समिति बैठक बोलाउने तयारीमा रहेको कांग्रेसले महासमिति बैठकबाट पारित प्रतिवेदन नयाँ राजनीतिक परिस्थितिलाई जोडेर अनुमोदन गर्ने छ । सत्तामा हुँदा महासमिति बैठकबाट पारित प्रतिवेदन कांग्रेसले प्रतिपक्षमा पुगेपछि गठबन्धन र माओवादीलाई हेर्ने नयाँ दृष्टिकोणसहित परिमार्जन गर्ने भएको छ ।

कांग्रेसको महासमिति बैठकको दस्ताबेजले गठबन्धन फेर्न माओवादीलाई उद्वेलित बनाएको प्रधानमन्त्री प्रचण्डको दाबी छ । प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काउनु पछाडिका पाँच कारणमध्ये एउटा कारण महासमिति बैठकमा प्रस्तुत प्रतिवेदनलाई बनाइराखेका छन् । फागुन २१ मा आफूसँग गठबन्धन भत्काएर एमालेसहितको नयाँ सत्ता समीकरण बनाएपछि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई ‘राजनीतिक बेइमान’को संज्ञा दिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार ०९:१६   :  बजे

249
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।