नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन्। बिहीबार मन्त्रालयको पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी आफूले काम गर्ने प्रतिवद्धता जनाएका हुन्।
मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहेका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने श्रेष्ठले बताए।
जस्तोसुकै चुनौती आए पनि दुबै जनाको संयुक्त प्रयासले चिर्ने प्रयास गर्ने श्रेष्ठको भनाई छ। प्रतिकुलतासँग झस्केर बर्बाद भयो भनेर कहिले पनि निराश नबन्ने उल्लेख गर्दै उनले प्रतिकुलताभित्र अनुकुलता सिर्जना गरिने कामको परिणाममा आफूले विश्वास गर्ने बताए। उनले कुराभन्दा पनि काम र परिणामबाट विश्वास दिने पनि बताए।
श्रेष्ठले आज बिहान पद तथा गोपनियताको सपथ लिएका थिए। शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट श्रेष्ठसँगै विष्णु पौडेल र लीलानाथ श्रेष्ठले पनि पद तथा गोपनियताको सपथ लिएका हुन्।
प्रतिक्रिया