सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले महामारीमा संक्रमित जनताकाे निःशुल्क उपचार नगर्ने सरकारी निर्णय आपत्तिजनक रहेकाे भन्दै उक्त निर्णय तत्काल फिर्ता लिन माग गर्नुभएकाे छ ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले एक विज्ञप्ती जारी गर्दै कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले महामारीमा जनताकाे निःशुल्क उपचार नगर्ने निर्णय गर्नु आफैमा आपत्तिजनक भएको बताउनुभएकाे हाे ।
‘संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनुचित छ । यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन,’ उहाँले भन्नुभएकाे छ, ‘त्यसमा पनि गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्या प्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गंभीर विषय हो ।
संक्रामक रोगसम्बन्धी हाम्रा विद्यमान कानुनी प्रावधानहरुले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको उक्त विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु ।
प्रतिक्रिया