काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले केपी आली नेतृत्वको सरकार असफल भएको आरोप लगाएका छन् । वडादशैं २०७७ को अवसरमा शुभकामना सन्देश मार्फत शाहले यस्तो आरोप लगाएका हुन् ।
शुभकामना भन्दा बढी असन्तुष्टि र आक्रोशका शब्द प्रहार गरेका पूर्वराजा शाहले आजको बढ्दो आसुरी र भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेको बताएका छन् ।
वर्तमान परिस्थितिप्रति असन्तुष्टि पोख्दै शाहले समाजमा अनेक आपराधिक गतिविधि र पिशाच प्रवृत्ति बढ्दो छ, यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ, आज सबैले बढ्दो आसुरी र भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेका छन् जस्ता शब्द लेखेका छन् ।
शाहले विपदका बेलामा समेत जनताले अभिभावक नपाएको भन्दै वर्तमान समयमा नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध भइरहेको उल्लेख गरेका छन् भने महामारी नियन्त्रणमा सरकार पूर्ण असफल भएको टिप्पणी गरेका छन् ।
‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध यतिबेला हुँदैछ उनको सन्देशमा उल्लेख छ ।
प्राकृतिक विपत्ति मानव वशको कुरा नभएको हामी सबैले बुझेका छौं भन्दै पूर्वराजा शाहले विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत नभएको उल्लेख गर्दै सरकारको आलोचना गरे ।
उनले जनता बचाउन सकेमात्र राजनीति र राज्य बच्ने भन्दै सन्देशमा लेखेका छन् ‘आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको छ, जनतालाई बचाउन सकेमात्र राज्य बच्ने र राज्य रहेमात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनुपर्छ ।’
विदेशमा गएर रोजगारीमा लागेकाहरू संकटमा छन् भन्दै शाहले देशभित्र उनीहरूको श्रम, सीप र सामर्थ्यको सदुपयोग गर्ने कुनै बन्दोबस्त नभएको आरोप पनि पूर्वराजाले लगाएका छन् ।
सन्देशमा पूर्वराजाले भनेका छन्, ‘त्यसैले, देश, समाज र परिवारको मोह ममताले आएकाहरू पनि फेरि कामका लागि विदेशतिरै लर्को लागेको मार्मिक अवस्था देखिन्छ ।’
राहत, रोजगार र रोगको उपचार खोज्दै भौंतारिएका जनसमूहलाई भरपर्दो आड आधारको आवश्यकता महशुस गराउन नसकिएकामा चिन्तित पूर्वराजा शाहले दैनिक जिविकाको अत्यावश्यक वस्तुको मूल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रासजस्ता विषयले जनजीवन पिरोलिएको पनि बताएका छन् ।




















प्रतिक्रिया