Logo

प्रमुख समाचार

क्रसर उद्योगहरुले भोलिदेखि गिट्टी बालुवाको बिक्री रोक्ने



काठमाडौं । शनिबारदेखि क्रसर उद्योगहरुले ढुङ्‍गा, गिट्टी र बालुवाको आपूर्ति ठप्प पार्ने भएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आह्वानमा शनिबारदेखि क्रसर उद्योगहरु बन्द हुन लागेका हुन् ।

क्रसर उद्योग नवीकरण नभएको भन्दै महासंघले शनिबारदेखि ढुङ्‍गा, गिट्टी, बालुवाको बिक्री वितरण रोक्ने घोषणा गरेको छ । महासंघले गत ११ माघमा भएको क्रसर उद्योगको दर्ता नवीकरण गर्ने निर्णय कार्यान्वयन नभएको भन्दै क्रसर उद्योगहरु बन्द गरेर आन्दाेलन सुरु गरेकाे बताएका हुन ।

गत ३ असारमा नै महासंघले माग पूरा नभए देशभरका क्रसर उद्योगबाट निर्माणजन्य सामग्रीको आपूर्ति ठप्प पार्ने चेतावनी दिएको थियो । पछिल्लोपटक दिएको म्यादअनुसार अवैध रुपमा चलिरहेका क्रसर उद्योगहरु आगामी असार मसान्तभित्र वैध भएर सञ्चालन गरिसक्नुपर्छ । गत माघमा मन्त्रिपरिषद्ले तत्कालीन समयमा इजाजत लिई दर्ता भएका तर, मापदण्डका कारण नवीकरण हुन नसकेका उद्योगलाई असारसम्मका लागि नवीकरण गर्ने निर्णय गरेको थियो ।

तर, उद्योगीहरुले सरकारको निर्णयले दर्ता भएका सबै उद्योगहरु स्वतः वैध हुने दाबी गरेका छन् । मन्त्रिपरिषद्को निर्णय अस्पष्ट भएको भन्दै जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयहरु क्रसर नवीकरण गर्न तयार भएका छैनन् । निर्णय कार्यान्वयन गर्न दबाब दिने उद्देश्यसहित व्यवसायीले आन्दोलन थालेका हुन् ।

प्रकाशित मिति : असार १५, २०८० शुक्रबार  ७ : १३ बजे

189
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।