Logo

समाचार

हेंवाले बहाव बदल्दा तटीय क्षेत्र जोखिममा



पाँचथर । यस वर्षको वर्षायामको सुरुआतमै हेंवा खोलामा आएको बाढीले तटीय क्षेत्र तहसनहस भयो ।

बाढीले तटीय क्षेत्रका सबै संरचना, बालीनाली तथा पूर्वाधारमा क्षति पुर्‍याएपछि जनजीवन असामान्य बनेको छ । चार वटा मोटरेवल पुल बगाएको हेंवा खोलाले तटीय क्षेत्रमा रहेको हजारौँ रोपनी खेतीयोग्य जमिनलाई खण्डहरमा परिणत गरेको छ तर त्योभन्दा मुख्य कुरा हेंवा खोलाले ठाउँ–ठाउँमा बहाव बदलेको छ । यसले तटीय क्षेत्रमा जोखिम बढाएको छ ।

हिलिहाङ गाउँपालिकाको हेंवा खोलाको तटीय क्षेत्रमा कृषि उत्पादन र पशुपालन गर्दै आउनुभएका भवानी योक्पाङ्देन तटीय क्षेत्र जोखिमपूर्ण बनेको बताए । “बाढी आउनुअघि ठूलो बगर थियो । फिजारिएको खोलामा बाढी आइहाल्दा पनि डराउनुपर्ने अवस्था थिएन”, योक्पाङ्देनले भने, “अहिले बाढीले सबै बगर पुरेको छ भने खोला गहिरिएर गएको छ ।” गहिरिएको खोलाले सानो बाढी आउँदा पनि बगर छिचोल्ने डर तटीय क्षेत्रका बासिन्दाको छ ।

विगतमा रहेकोभन्दा बाढी आएपछि खोलाले बहाव यत्रतत्र बदलेको छ । जसकारण पानीको मात्रा बढ्नासाथ बहाव बदलिएर बस्तीसम्म पस्ने खतरा कायमै रहेको योक्पाङ्देनको चिन्ता छ । “बर्खा सुरु मात्रै हुँदैछ । अझै पानी पर्ने समय तीन/चार महिना बाँकी छ”, योक्पाङ्देनले भने, “समग्रमा खोलाले तटीय क्षेत्रमा चिन्ता थपेको छ ।” प्रायजसो साउन र भदौमा अधिक वर्षा हुने हुँदा बाढीको जोखिम उत्तिकै रहेको र अब बाढीले कता क्षति पुर्‍याउला भन्ने अनुमान गर्न नसकिने अवस्था आएको उनको भनाइ छ ।

हेंवा खोला र तमोर नदीको दोभान माझीटारमा खोलाले शताब्दीऔँदेखि बसोबास गरिरहेको बस्तीमा कटान थालेको छ । फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ माझीटारमा कहिल्यै खेती नटुटेको खेतबारीलाई यसपालिको बाढीले ढुङ्गामुढाको खण्डहरमा परिणत गरिदिएको छ ।

दोभान नजिकै हेंवा खोलामा ढुङ्गा थुपारेको छ । नदीको कटान परिवर्तन हुनु र ढुङ्गा थुपारिनुले माझीटारको मुख्य बस्ती जोखिममा परेको स्थानीयवासी प्रकाश माझीको भनाइ छ । “अहिलेसम्म हामीले यस्तो जोखिम देखेका/भोगेका थिएनौँ”, माझीले भने, “यसपालि घर छोडेर भाग्नुपर्ला कि जस्तो बनायो ।”

आफूहरु जोखिममा परे पनि सरकारी निकायले वेवास्ता गरेको हिलिहाङ–७ की सुमिना लिम्बूको भनाइ छ । “घर बगाएका, मृत्यु र बेपत्ता भएका परिवारबारे सरकारले चासो राखेको छ तर घरबार भएर पनि बस्न नसक्ने स्थितिमा पुगेका हामीलाई कसैले एक शब्द सोध्नुभएको छैन्”, लिम्बूले हिलिहाङ गाउँपालिकाका निवर्तमान अध्यक्ष भुवानीप्रसाद लिङदेनसमक्ष गुनासो पोखे, “आज बल्ल तपाईं हाम्रो पीडा हेर्न आइदिनुभयो । अरुलाई त फोन गरेर आइदिनुहोस् न भन्दा पनि मान्नुभएन ।”

तमोर कोरिडोर र मेची राजमार्गमा पेसा व्यवसाय चलेका तथा खेतीयोग्य जमिनमा प्रसस्तै उत्पादन भइरहेका क्षेत्रलाई एकै बाढीले धराशायी बनाएपछि स्थानीयवासी अत्तालिएका छन् । स्थानीय सरकारले केही ढाडस दिएर जोखिममुक्त गर्दै उत्पादन र व्यवसायलाई पुरानै लयमा फर्काउनु आवश्यक रहेको जिल्ला समन्वय समिति पाँचथरका निवर्तमान प्रमुख विष्णुप्रसाद सापकोटाले बताए ।

प्रकाशित मिति : असार २८, २०८० बिहीबार  १२ : १७ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।