Logo

समाचार

सुशासनको अभियालने विश्राम लिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले थालेको सुशासनको अभियानले कुनै पनि हालतमा विश्राम नलिने बताएका छन् ।

राष्ट्रियसभाका आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत गृह मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सुशासनलाई आत्मसात् गरेर सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

“सुशासन समृद्धिको पूर्वसर्त हो । सुशासनलाई आत्मसात् गरेर हामी अगाडि बढ्छौँ । सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकार अगाडि बढ्छ”, उनले भने, “सुशासनका सन्दर्भमा सरकारले चालेको कदमलाई सिङ्गो देश र सदनले जुन समर्थन व्यक्त गरेको छ, त्यसको म उच्च मूल्याङ्कनसहित आभार व्यक्त गर्न चाहन्छु ।”

धनी र गरिब तथा सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन नहुने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले निर्दोष कुनै पनि हालतमा नफसुन, दोषी अपराधी नछुटुन भन्ने मान्यताअनुसार सुशासनको अभियान अगाडि बढेको बताए ।

उनले साधनस्रोतको सीमाका बीच गृह मन्त्रालयका कामलाई अगाडि बढाउन प्रयत्न गरिएको जानकारी दिए । “प्रहरी फोर्सभित्र वृत्तिविकास र भौतिक पूर्वाधारको समस्या छ”, उनले भने, “सीमासुरक्षा, अपराध नियन्त्रण, शान्तिसुरक्षा प्रभावकारी बनाउने, लागुऔषध नियन्त्रण, विपद् व्यवस्थापन, भेदभावको अन्त्यका कामलाई व्यवस्थित र प्रभावकारी बनाउन साधनस्रोतको सीमाका बाबजुद हामी अधिकतम प्रयास गरिरहेका छौँ ।”

सरकार प्रहरी समायोजनको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन दृढ रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : असार २८, २०८० बिहीबार  ५ : २४ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।