Logo

दसैँकै बेला नेवार समुदायमा मनाइन्छ मोहनी नख :



 दसैँमा नेवार समुदायको फूलपाती भित्र्याउने खास विधि र चलन छैन । नेवार समुदायले दशैँको साटो मोहनी नखः मनाउने गर्छन् । पछिल्ला दिनहरुमा नेवार समुदायमा केहीले फूलपाती भित्र्याउने चलन सुरु गरेका छन् तर फूलपाती भित्र्याए पनि सो पर्व मोहनी नखः नै हो ।

संस्कृतविद् सत्यमोहन जोशीका अनुसार बज्रयान बौध्द धर्मअनुसार विशेष प्रकारको तन्त्र साधना गरी तयार पारिएको मोहनी सिन्ह (कालो टीका) को नामबाट मोहनी नखः भएको हो । मोहनी नखः अन्तर्गत सप्तमीका दिन नेवार समुदायमा केही पनि गर्नुपर्दैन । पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय प्राप्त गरेपछि फूलपातीको प्रचलन नेपाल मण्डलमा शुरु भएको इतिहास छ । जोशीले थप्नुभयो, दशैँको सुरु आश्विन प्रतिपदा (घटस्थापना) बाट भएजस्तै मोहनी नखःको सुरु पनि यसै दिनबाट हुन्छ ।

हिन्दूहरूले घरघरमा जमरा राखेर घटस्थापना गरेजस्तै हिन्दू र गैरहिन्दू अर्थात् बौद्धमार्गी नेवारले पनि आश्विन प्रतिपदा अर्थात कौलाथ्व (पारु)कै दिन आगम घरमा ‘नलाः स्वनेगु’ अर्थात् जमरा राख्ने गर्छन् ।

उहाँको अनुसार वर्षभरि मनाइने थुप्रै चाडपर्वमा मोहनी नखः नेवार समुदायको सबैभन्दा ठूलो चाड हो । मोहनी नखःका बेला अष्टमी, नवमी र दशमीका दिन मनाइने क्रमशः कुछी भ्वय (एक पाथी भोज), स्याक्व त्याक्व (काटमार गर्ने दिन) र चालँ (विजयादशमी)को विशेष महत्व छ । दशमीदेखि पूर्णिमासम्म नखत्या (पर्व सकेपछिको भोज) भनी छोरीज्वाइँ, दिदीबहिनीलाई भोज बोलाउनुपर्ने प्रचलन छ ।

यता संस्कृतविद् ओम धौभडेलले पनि नेवार समुदाय दशै नभएर मोहनी नखः मनाउने जानकारी दिनुभयो ।

अष्टमीका दिन नेवारहरुले घरघरमा कूछि भ्वय् (भोज) गरिन्छ । परिवारका सबै कुलका मानिसहरु ज्येष्ठताका आधारमा क्रममा बसेर भोज खाने भएकाले यसलाई कुछि भ्वय भनिएको हो । सो दिन यो मोहनीको अत्यन्तै महत्वपूर्ण दिन रहेको धारणा उहाँले ब्यक्त गर्नुभयो ।

स्थापना गरिएका देवदेवीसहित अष्टमीका दिन स्थापना गरिएको पुस्तक, तथा सरसामानलाई पूजाआजा गर्नुका साथै भोज खुवाउने गरिने धौभडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार नवमी, जुन दिनलाई नेपाल भाषामा स्याक्व त्याक्व पनि भनिन्छ त्यस दिन मोहनी सिन्हः फयेगु (तयार) गरिन्छ । तन्त्रसँग सम्बन्धित मोहनी सिन्हः टीका लगाउनु नै मोहनी नखःको प्रमुख विशेषता हो । यो समाचार आजको गोखखापत्र दैनिकमा छ ।

प्रकाशित : ९ कार्तिक २०७७, आइतबार