काठमाडौं । बुद्धनगरस्थित एक स्कुलभित्र पसेको भैंसी पाँच घन्टापछि नियन्त्रणमा लिइएको छ ।
बुधबार बिहान ६ बजे एक्कासी बुद्धनगर क्षेत्रको सडकमा आएर आतंक मच्चाएको भैंसीलाई डार्ट गरेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
डार्ट गर्नका लागि वन कार्यालय स्युचाटारबाट टोली बोलाइएको थियो ।‘टोलीले डार्ट गरेर भैंसी नियन्त्रणमा लिइसकेको छ,’ ढुंगेलले भने ।
उक्त भैंसी गल्लीगल्ली चहार्दै ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेर ग्यारेजमा बसेको थियो । भैंसीले क्षति पुर्याउन सक्ने भएकाले आज बिहानभर सशस्त्र र नेपाल प्रहरीको टोलीले निगरानी गरेको थियो ।
उक्त भैंसी स्कुलको ग्यारेजभित्र प्रवेश गरेर बसेपछि नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको टोलीले डिभिजन वन कार्यालयको टोलीलाई खबर गरेको थियो ।
त्यसपछि भेटेरिनरी डाक्टरसहित वन अधिकृतको टोली विद्यालय परिसरमा पुगेको थियो ।















प्रतिक्रिया