Logo

प्रमुख समाचार

पाँच महिनामा लम्पी स्कीन राेगबाट १४ लाखभन्दा बढी पशु प्रभावित, साढे ५२ हजार मरे



काठमाडौं । नेपालमा करिब साढे १४ लाख पशुमा लम्पी स्कीन संक्रमण भएको पाइएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले दिएको जानकारी अनुसार पाँच महिनाको अवधिमा १४ लाख ४६ हजार ४९९ पशुमा लम्पी स्कीन संक्रमण भएको जानकारी गराएका हुन् ।

नेपालमा पहिलो पटक २०७७ मा पहिलो पटक मोरङको सुन्दर हरैचाका पशुमा देखिएको थियो । त्यसपछि हरेक वर्ष देखा पर्दै आएको यो रोग यस वर्ष व्यापक फैलिएको हो ।

मन्त्री भुसालका अनुसार कुल संक्रमित पशुहरूमध्ये १२ लाख ८८ हजार ७५९ उपचारपछि निको भएका छन् भने ५२ हजार ४४८ पशु मरेका छन् । अहिले देशभर १ लाख ५ हजार २५३ पशुमा लम्पी स्कीन रागबाट बिरामी रहेका छन् ।

सरकारले जोर्डन, तान्जानीया र टर्कीबाट लम्पी स्कीनविरुद्धका भ्याक्सिन आयात गर्दै आएका छ । अहिलेसम्म कुल १३ लाख ६९ हजार डोज ल्याइएको र ७ लाख ६ हजार ४०० डोज लगाइएको मन्त्री भुसालले जानकारी दिए ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुसाल

लम्पी स्कीन संक्रमण नियन्त्रणका लागि सरकार सम्पूर्ण प्रयास गरिरहेको मन्त्री भुसालले बताए । सरकारको पहलपश्चात निको हुने पशुहरूको संख्या बढेको उनले बताए ।

लम्पी स्कीन रोगका कारण गाईवस्तुमा उच्च ज्वरो आउने हुँदा त्यस्तालाई ओषधि खुवाउनुका साथै इन्जेक्सन लगाइएको र गिर्खामा मलम लगाउने गरिएको बताए । उनले थप फैलन नदिन संक्रमण नभएका पशुलाई भ्याक्सिन लगाउनुपर्ने बताएका छन् । यो रोग झिँगा र किर्नाको टोकाइबाट सर्ने भएकाले असोजसम्म फैलिन सक्ने उनले बताए ।

लम्पी स्कीन गत वर्ष भारतमा व्यापक रुपमा फैलिएको थियो । छिमेकी मुलुकमा फैलिँदा त्यसबाट पाठ सिकेर पूर्व तयारी गर्न नसक्दा यस पटक नेपालमा पनि धेरै क्षति पुगेको उनले बताए । तर अहिले सरकारले यसलाई गम्भीरताका साथ लिएर काम गरिरहेको बताए ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार १६:४५   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।