Logo

समाचार

सिंहदरबार रेक्ट्रोफिटको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेक्ट्रोफिट भइरहेको सिंहदरबारको पश्चिम खण्डको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । आज रेक्ट्रोफिट भइरहेको भवनको स्थलगत अनुगमन गर्दै उनले छिटो काम सम्पन्न गर्न निर्देशन दिएका हुन् र अनुगमनका क्रममा प्रधानमन्त्री प्रचण्डले भूकम्पले क्षति पुर्याएको सिंहदरबारलाई रेक्ट्रोफिट गरेर पुनः पुरानै अवस्थामा निर्माण गर्नु सुखद् भएको बताए। “काम सन्तोषजक ढङ्गले अघि बढेको छ, अब बाँकी काम पनि तत्काल सम्पन्न गर्नुहोस्”, उनले भने ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भवन र निर्माणमा संलग्न शर्मा न्यू टेक्निकल जेभीका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले पुनःनिर्माण सम्पन्न भएपश्चात देखिने बाहिरी र भित्री कक्षहरूको ‘थ्रिडी एनिमेसन’को समेत अवलोकन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले इन्जिनियर, प्राविधिक र पुनःनिर्माण कार्यमा संलग्न सबैलाई धन्यवाद दिएका थिए।

अनुगमनका क्रममा सहरी विकासमन्त्री सीता गुरुङले रेक्ट्रोफिटको काम सम्पन्न हुने चरणमा पुगेको बताउँदै इन्टेरियरको काम पनि अघि बढाउने गरी काम भइरहेको जानकारी दिए । उनले पुनःनिमाण भइरहेको पश्चिम खण्डमा प्रधानमन्त्री र मुख्यसचिवको कार्यकक्ष रहने गरी गृहकार्य गरिएको जानकारी दिए ।

सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भवनले सिंहदरबार पश्चिम खण्डको रेक्ट्रोफिटको काम गरिरहेको छ । विसं २०७६ बाट सुरु भएको रेक्ट्रोफिटको काम हाल ९५ प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार २१:४१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।