Logo

समाचार

व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नगर्न मेयर साम्पाङलाई उच्च अदालतको आदेश



काठमाडौं । उच्च अदालत विराटनगरले धरानका मेयर हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नगर्न, जग्गाधनीलाई धरपकड नगर्न आदेश दिएको छ ।

बिहीबार उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको हो ।

धरान ४ स्थित छोटी मोरङ डाडामा रहेको रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा मेयर साम्पाङले जबर्जस्ती बिरूवा रोपेको भन्दै अधिकारी दम्पती यसअघि नै अदालत गएका थिए ।

साउन ६ गते मेयरले आफ्नो जमिनमा जबरजस्ती गरेको, पाराग्लाइडिङको उडानस्थलमै बिरूवा रोपेर असर पारेको भन्दै अधिकारी परिवार लगत्तै अदालत पुगेको थियो। साउन ११ गते उच्च अदालत, विराटनगरका न्यायाधीश मिलनकुमार राईको इजलासले अन्तरिम आदेश जारी गर्दै ‘मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त जग्गामा अनधिकृत रूपमा प्रवेश नगर्न, वृक्षरोपण गर्ने कार्य नगर्न, नगराउन’ भनेको थियो।

तर, गएको सोमबार मेयर साम्पाङ फेरि जमिनमा पुगेर घर भत्काइदिने धम्की दिएपछि विवाद भएको थियो। अधिकारी दम्पतीले प्रतिवाद गरेको भिडिओ सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार १२:०४   :  बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।