सर्वोच्च अदालतमा आजदेखि मुद्दाको पेसी तारेखमा कर्मचारीले चलखेल गर्न नपाउने भएका छन् ।
अदालतमा हुने भ्रष्टाचार र अनियमितता रोक्न सोमबारदेखि सर्वोच्चमा मुद्दाको पेसी स्वचालित (अटोमेसन) प्रणालीबाट तोकिने भएको हाे ।
पेसी तोक्दा कर्मचारीले आफूखुसी गरेको गुनासो आएपछि स्वचालित प्रणाली सुरु गर्न लागिएको हो । स्वचालित प्रणाली लागु भएपछि महिनौंसम्म पेसीको पालो नआएको भन्ने गुनासो सम्बोधन हुने विश्वास लिइएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले भ्रष्टाचार, अनियमितता रोक्न अदालतलाई प्रविधिमैत्री बनाउन लागिएको बताए । उनका अनुसार मुद्दा दर्ता भैसकेपछि पेसी तोक्दा पनि चलखेल हुने गरेको भन्ने जनगुनासो सम्बोधन गर्न स्वचालित प्रणाली अपनाउन लागिएको हो । ‘न्यायपालिकाभित्रका अनियमितता हटाउन विधि र प्रणालीबाट सम्बोधन गर्नुपर्ने भएको छ’, प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘पेसी तारेख सोमबारदेखि स्वचालित प्रणालीमा जाँदैछ ।’ दैनिक सुनुवाइ हुने मुद्दाको पेसी तोक्दा मानव हस्तक्षेप नहुने गरी प्रविधिमा जान थालिएको उनले बताए ।
हालसम्म पेसी कर्मचारीले तोक्दै आएका छन्। कर्मचारीमै भर पर्नुपर्ने भएकाले महिनौंसम्म मुद्दा पेसीमा चढ्न नसकेको सेवाग्राहीको गुनासोतर्फ संकेत गर्दै प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘म प्रविधिमा भरोसा गर्छु । अनियमितता रोक्न यसले मद्दत पुग्नेछ ।’
अदालतमा मुद्दा दर्ता भएपछि पेसी तोक्दा कर्मचारीले मनोमौजी गर्ने र कतिपय पहुँच भएका कानुन व्यवसायीले कर्मचारीसँगको मिलेमतोमा पेसी अगाडि सार्ने गरेको गुनासो सुनिँदै आएको छ । महिनौंसम्म मुद्दा पेसीमा नचढ्दा सर्वसाधारण अदालतमा धाउनुपर्ने बाध्यता छ । यस्ता समस्या अन्त्य गर्न स्वचालित प्रणालीबाट पेसी तोक्न लागिएको हो ।





















प्रतिक्रिया