Logo

प्रमुख समाचार

अधिकारी र दावाबीचको संवादको ‘कल डिटेल्स’ मागेर अख्तियारले अनुसन्धान गर्ने



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी काण्डमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीले सुन तस्कर दावासँग गरेको वीच्याटलगायतका संवादको बारेमा पनि विस्तृत अध्ययन गर्ने भएको छ।

अख्तियारले सुन तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीसहितका कर्मचारीमाथि विस्तृत अनुसन्धान गर्ने निर्णय गरिसकेको छ।

त्यसका लागि अनुसन्धान अधिकृत नै तोकेर अनुसन्धान थालिसकेको अख्तियार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अख्तियारले अधिकारीले दावासँग गरेका विभिन्न व्यावसायिक डिल तथा अन्य आर्थिक सम्बन्धका बारेमा छानबिन थालेको छ।

अख्तियारका एक अधिकारीले भने–‘छानबिनका क्रममा आवश्यक परेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सँग दावा र अधिकारीबीच वीच्याटमा भएका कुराकानीको विवरण वा कलडिटेल्स कल डिटेल्स माग्छौं ।’

सुन तस्करीका प्रमुख योजनाकार मानिएका दावा छिरिङ गत १५ साउनमा पक्राउ परेका थिए। उनको कल डिटेल्स र अन्य इलेक्ट्रिक डिभाइसका बारेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्ययन र छानबिन गर्दै आइरहेको छ ।

यसै क्रममा केही दिनअघि मात्रै सीआईबीका अनुसन्धान अधिकृतहरूले दावा र अधिकारीबीच पटकपटक वीच्याटमा कुराकानी हुने गरेको र सो क्रममा व्यापारिक डिलसमेत हुने गरेको फेला पारेका थिए । सुन तस्कर दावासँग सेटिङ गरेका विभिन्न प्रमाणहरू फेला पार्दा पनि सीआईबीले अधिकारीलाई पक्राउ गरी कारबाही गर्न सकेको छैन ।

पछिल्लो समय ६१ किलो सुन तस्करी र त्यसअघि इलेक्ट्रिक सिगरेट (भेप) मार्फत् गरिएको ९ किलो सुन तस्करीमा संलग्न रहेका भनिएका सबै कर्मचारीमाथि अख्तियारले एकै पटक विस्तृत अनुसन्धान गर्दै आइरहेको छ । अख्तियारले अधिकारीलगायतका सुन तस्करीमा मुछिएका कर्मचारीको सम्पत्तिका बारेमा समेत अनुसन्धान थालेको जनाइएको छ। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार ०८:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।