Logo

राजनीति

निषेधाज्ञा खुलेको १ महिना भित्रमा कर तिर्न मिल्ने गरि निर्देशन सच्याउन माग



नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागले निषेधाज्ञा पश्चात १ महिना भित्र करदाताले कर विवरण तथा कर दाखिला गर्ने गराउने व्यवस्था मिलाउन माग गरेको छ । 
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण विगत ६ महिनादेखि औपचारिक र अनौपचारिक रुपमा जारी रहेको लकडाउन तथा निषेधाज्ञाले देशको आर्थिक, सामाजिक क्षेत्र सँगै सम्पूर्ण उद्योग, कलकारखाना तथा सरकारी, निजी क्षेत्र पनि नराम्रोसँग प्रभावित भएको बेला सरकारले करको लागि ताकेता गर्नु सान्र्दभिक नरहेको भन्दै विभागले यस्तो माग गरेको हो । 

विभागले सरकारको यो निर्देशनको कडा आलोचना गर्दै सोही निर्णयलाई अव्यवहारिक, अलोकतान्त्रिक र व्यवसायी विरोधी निर्देशनको संज्ञा दिएको छ । “एकातिर महिनाभर आवागमनमा रोक लगाउने अर्कोतर्फ मसान्त सकिनै लाग्दा केबल कर उठाउनका लागि मात्रै यही भाद्र २३, २४ र २५ गते तीन दिन बैंकहरु खुला गर्न र २५ गतेभित्रै कर विवरण तथा कर भुक्तानी गर्न दबाब दिँदै अन्यथा नियम अनुसार जरिवाना लिने सरकारी हठ जनविरोधी र अव्यवहारिक भएको ठहर कांग्रेसले गरेको छ ।” विज्ञप्तिमा उल्लेख छ ।

“महिनौँसम्म लकडाउन र निषेधाज्ञा जारी गरी सबैलाई घरभित्र बसाएको सरकारले यस्तो अवस्थामा व्यवहारिक नीति अपनाउँदै व्यवसायीहरुको समस्या समाधानमा सहजीकरण तर्फ कुनै ध्यान नदिई केबल कर असुलीमा मात्रै ध्यान केन्द्रित गराउँदा आम जनतासँगै करदाता र व्यवसायीहरुको दुःख कम गराउने भन्दा राज्य थप मानसिक यातना दिन उद्दत रहेको पुष्टि गर्दछ ।”

साथै कांग्रेसले वर्तमान नेकपा नेतृत्वको अति बलशाली र शक्तिशाली सरकारले महामारीको त्रासदीमा रहेका आम जनतादेखि उद्योग, व्यवसायीहरुको संकटबाट उनीहरुलाई पार लगाउने भन्दा आलो घाउमा नूनचूक छर्ने कार्य बाहेक केही नगरेको आरोप समेत लगाएको छ । 

प्रकाशित : २४ भाद्र २०७७, बुधबार