Logo

प्रमुख समाचार

पाल्पामा पहिरोले जीप पुरिँदा मृत्यु भएका तीनै जनाको सनाखत



बुटवल । पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो पुरिँदा मृत्यु भएकाहरूको पहिचान खुलेको  छ ।

तानसेन-तम्घास सहायक राजमार्गको रिब्दीकोट गाउँपालिका वडा नंं २ जोर्तेमा ढुङ्गासहितको पहिरोमा लु १ ज ४६०० नम्वरको स्कारपियो गाडी पुरिँदा ३ जनाको घटनास्थमै मृत्यु भएको हो भने ८ जना घाइते भएका छन् । घाइते ८ जनाको उपचार भइरहेको छ ।

मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका-७ की ५० वर्षीया मनकला चुँदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत तानसेन पाल्पाका प्रहरी सहायक हवल्दार अन्दाजी वर्ष ३२ का यमबहादुर गोदार र पोखरा महानगरपालिका– २५ का विनोद तिम्सिना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

माथिबाट झरेको ढुङ्गा सहितको सुख्खा पहिरोले स्कार्पियोको पछाडिको भाग क्षत-विक्षत भएको छ । मृतकहरूको शवसमेत क्षत-विक्षत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

तम्घासबाट बुटवलतर्फ आउँदै गरेको जिपमाथि बुधबार बिहान करिब सवा ८ बजे पाल्पाको जोर्तेमा ढुंगा खसेको थियो । घाइते भएका ८ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको र घाइतेमध्ये एक जनाबाहेक अन्य ७ जनाको अवस्था समान्य रहेको पाल्पा प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ८ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ भने चालक सकुशल रहेको सूचना अधिकारी थापाले बताए । डिभिजन सडक कार्यालय पाल्पाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरी चौडा बनाउँदै आएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १२:०३   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।