Logo

प्रमुख समाचार

त्रिभुवन विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे एकैसाथ सरुवा



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले सामूहिक सरूवा मागेका छन् ।

विभागका महानिर्देशकलाई सम्बोधन गर्दै मंगलबार ३५ अधिकृतसहितका कर्मचारीले एकैसाथ सरुवा मागेका हुन् । विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले पनि कर्मचारीहरुले सरुवा माग्दै निवेदन दिएको पुष्टि गरे ।

विभागका महानिर्देशकलाई सम्बोधन गर्दै लेखिएको पत्रमा हालै घटेको सुन काण्डको कारण आफूहरूलाई विभिन्न निकायबाट दुःख दिइएको भन्दै उनीहरूले सरूवा मागेका हुन् ।

‘हामीलाई पनि यो जानकारी आइसकेको छ, अहिले विभागका महानिर्देशक मुलुक बाहिर हुनुभएकाले यसमा केही गर्न सकिने अवस्था छैन,’ भन्सार विभागका प्रवक्ता तथा निर्देशक पुण्यविक्रम खड्काले भने, ‘तर हामीले अहिले त्यहाँ भन्सार कार्यालय शून्य नहुने अवस्था कायम गरेका छौं।’

खड्काका अनुसार सरूवा मागेका कर्मचारीहरूले काम भने रोकेका छैनन्।

त्रिभुवन विमानस्थलका ३५ अधिकृतसहित १ सय ३७ कर्मचारीले एकैसाथ सरूवा मागेका हुन्।

‘घटनामा दोषी जो कोहीलाई कानुन बमोजिम कारबाही गरियोस् भन्ने कुरामा हाम्रो कुनै दुईमत रहेन तर, कर्तव्य पालनाका सिलसिलामा खटिएका कर्मचारीहरुमाथि अनावश्यक धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने, संलग्नता भएका यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुःख दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भइ तोकिएको कार्यजिम्मेवारी पूरा गर्न हामी कर्मचारीहरुमा व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ’, निवेदनमा भनिएको छ ।

 

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १४:४३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।