काठमाडौं । सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको पाँचकिलो भन्ने स्थान नजिकै जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
आज बिहान साढे ३ बजे दोलखाबाट काठमाडौं आउँदै गरेको बा १५ च ९३७० नम्बरको स्कारपिओ सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ पाँचकिलोस्थित दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक सञ्जिव यादवका अनुसार गाडी अनियन्त्रित भई घुम्ती सडकबाट अन्दाजी तीन सय मिटर तल सडकमा खसेको थियो ।
दुर्घटनामा परी चालक काठमाडौंको नागार्जुन नगरपालिका-४ का ३६ वर्षीय उत्तम महर्जन र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ घुम्थाङका ४१ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि खाडीचौरको सिन्धु सदाबहार अस्पतालमा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
रामेछापको उमाकुण्ड गाउँपालिका-२ का ३७ वर्षीया संगिता बराइली, उनकी ८ बर्षीया छोरी युशा बराइली, रामेछापकै गोकुलगंगा गाउँपालिका-१ का ५५ वर्षीया डोल्मा शेर्पा र काठमाडौंको नागार्जुन नगरपालिका-७ का १४ वर्षीय प्रमोद महर्जन घाइते भएका छन् ।
उनीहरूलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको इन्सपेक्टर यादवले जानकारी दिए ।















प्रतिक्रिया