Logo

राजनीति

जसपा पनि कम्युनिष्ट सिद्धान्तमा, अब हरेक सक्रिय कार्यकर्ताले लेवी तिर्नु पर्ने 



गत बैशाखमा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएपछि सुनसान रहेको जनता समाजवादी पार्टी नेपालको गतिविधि सक्रिय हुन थालेको छ । यसै सेरोफोरोमा पार्टीमा आवद्ध सम्पूर्ण सक्रिय कार्यकर्ताका लागि लेवी तोकेको छ । 

गत बैशाखमा सरकारले दल फुटाउने सम्बन्धी अध्यादेश ल्याएपछि रातारात दुई दल मिलेर जसपा बने पनि यो दलले आसारमा मात्र निर्वाचन आयोगबाट मान्यता समेत प्राप्त गरेको थियो भने पार्टी बैठकले केही दिन अगाडि मात्र डा. बाबुराम भट्टराईलाई पार्टीको संघिय परिषद अध्यक्षको जिम्मेवारी तोक्ने बाहेक अरु गतिविधि थिएनन् । 

आज बसेको बैठकले नयाँ निर्णय गरेसँगै अब सम्पूर्ण सक्रिय नेता कार्यकर्ताले पार्टीले तोके अनुसार मासिक लेवी तिर्नु पर्नेछ भने लाभको पदमा रहेका व्यक्तिहरुले पार्टीले तोके अनुसार थप शुल्क तिर्नु पर्नेछ । पार्टीको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार केन्द्रीय कार्यकारी समितिका सदस्यहरुले मासिक एक हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ भने राजनीतिक समितिका सदस्यहरुले ७००, केन्द्रीय समितिका सदस्यले ५००, संघीय परिषद्का सदस्यले ३००, राष्ट्रिय समितिका सदस्यले २५० र संघीय सांसदहरुले १५ हजार रुपैयाँ लेवी बुझाउनुपर्नेछ । 

प्रदेश तथा स्थानीय तहरुमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले तोकिएको बमोजिम लेवी बुझाउपर्ने छ भने पार्टीको तर्फबाट विभिन्न लाभको पदमा नियुक्त भएका व्यक्तिहरुले पनि तोकिएको लेवी बुझाउपर्ने पार्टीको निर्णयमा उल्लेख छ । पार्टी सदस्यता वितरण गर्दा आउने शुल्कको ४० प्रतिशत स्थानीय तह, ३० प्रतिशत प्रतिशत प्रदेश समिति र ३० प्रतिशत केन्द्रीय समितिमा बुझाउनु पर्ने पनि सो पार्टीले निर्णय गरेको छ ।

सो पार्टीको कार्यकारिणी समिति ५३ सदस्यीय रहेको छ, जसमा दुई सीट खाली राखेको छ । केन्द्रीय कार्यसमिति ८०१ सदस्यीय रहेको छ भने संघीय परिषद् ११०१  र राजनीतिक समिति १५१ सदस्यीय रहने विधानमा उल्लेख छ । राजपाको प्रतिनिधिसभामा ३४ र राष्ट्रियसभामा ३ गरी जम्मा ३७ संघीय सांसद रहेका छन् । एक जनाले एक ठाउँमा मात्र लेवी तिर्नुपर्छ । यो निर्णसँगै जसपा नेपालले पनि कम्युनिष्ट पार्टीकै सिको गरेको टिप्पणी हुन थालेको छ ।

प्रकाशित मिति : कार्तिक १२, २०७७ बुधबार  ४ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।