काठमाडौं । बाँकेको शमशेरगन्जमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका ७ मध्ये ६ जनाको सनाखत भएको छ । शुकुबार राति दाङबाट आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शमशेरगन्जमा रोकिराखेको ट्रकमा ठोक्किँदा भएको दुर्घटनामा सात जनाको मृत्यु भएको हो ।
मृतकमध्ये ६ जना बर्दियास्थित ठाकुरबाबा नगरपालिकाका रहेको खुलेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार ठाकुरबाबा नगरपालिका ९ मा रहेको सामुदायिक वनबाट भ्रमण गएको टोली दुर्घटनामा परेको हो।
दुर्घटनामा कस्तुरी थापा (५५), काँशीराम थारू (५०), रूपा परियार (५०), जयन्ति थारू (३५) र साधुराम चौधरी (६५) को मृत्यु भएको छ। यी सबै ठाकुरबाबा नगरपालिका वडा ९ का बासिन्दा हुन्। यसैगरी उक्त दुर्घटनामा ठाकुरबाबा ८ का ४५ वर्षीय जुगबहादुर चन्दको पनि मृत्यु भएको छ।
मृतक ३५ वर्षीय चालकको भने परिचय खुलेको छैन। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपिकृष्ण सुवेदीले बसमा जम्मा ४१ जना रहेकोमा घाइतेमध्ये २९ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको जानकारी दिए। बाँकी ५ जना भने सकुशल रहेका छन्।















प्रतिक्रिया