Logo

प्रमुख समाचार

सुनका मालिकसम्म अझै पुग्न सकेन प्रहरी, भाेलि अनुसन्धान प्रतिवेदन बुझाउने तयारी



काठमाडाैं । विमानस्थलबाट भएको सुन तस्करीको अनुसन्धानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अन्तिम चरणमा पुर्‍याएको छ ।

तर, तस्करीमा लगानी गर्ने नेपाली गिरोहसम्म भने प्रहरी अझै पुग्न सकेको छैन । थुनामा राख्ने हदम्यादसम्बन्धी प्रावधानका कारण सिआइबीले मंगलबारसम्म अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको छ । अभियुक्त पक्राउ गरी अनुसन्धान सुरु भएको मंगलबार ५६ दिन पुग्नेछ । ६० दिनभित्र अदालतमा अभियोग दर्ता गरिसक्नुपर्नेछ ।

सरकारी वकिलले पनि अध्ययनका लागि केही दिन मागेकाले मंगलबारसम्म सिआइबीले पहिलो चरणको अनुसन्धान टुंग्याउन लागेको हो । ३० भदौभित्र मुद्दा दर्ता गर्नुपर्ने भएकाले प्रहरी अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए ।

सिआइबीले ३० जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । जसमा चिनियाँ नागरिक, भन्सार कर्मचारी, भन्सार एजेन्ट, सुन व्यापारी तथा बिचौलियाहरू छन् । तस्करीको केन्द्रमा चिनियाँहरू नै भए पनि उनीहरूलाई नेपालमा क–कसले सघाएका थिए भन्नेमा प्रहरी अनुसन्धान अघि बढ्न सकेको छैन । पक्राउ परेकाहरूले केही नबताउँदा अनुसन्धानमा ढिलाइ भएको सिआइबी अधिकारीहरूको भनाइ छ ।

चिनियाँ गिरोहलाई सघाउने नेपालीमध्ये किशोर बस्नेत र सुमन खरेल पक्राउ परेका छन् । दुवैलाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको हो । उनीहरूमाथि अनुसन्धान गर्दा बाराका सुन व्यापारी शिव सर्राफ पनि समातिएका छन् । सर्राफले आफ्ना लागि तथा भारतमा तस्करीका लागि सो समूहसँग तस्करीको सुन किन्दै आएको अनुसन्धानबाट पुष्टि भएको छ । साथै अरू धेरै सुन पसललाई सो समूहले तस्करीको सुन बिक्री गर्दै आएको पनि अनुसन्धानमा पत्ता लागेको छ । तर, प्रमाण नहुँदा अन्य सुन पसले पक्राउ परेका छैनन् ।

सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यको नेतृत्वमा ३३ जनाको अनुसन्धान टोलीले यो प्रकरणका विभिन्न पाटामाथि अनुसन्धान गरिरहेको छ । चिनियाँहरूले सुन तस्करीको लेनदेन मिलाउन क्रिप्टोकरेन्सीको कारोबार पनि गरेको प्रमाण प्रहरीले भेट्टाएको छ ।

कतिपय भुक्तानी हुन्डीमार्फत समेत हुने गरेको थियो । त्यस्तै, तस्करीमा संलग्न चिनियाँहरूले नेपाली नागरिकता र पासपोर्ट लिएको विषयमा पनि छुट्टै अनुसन्धान भइरहेको छ । हदम्यादका कारण अहिले मुद्दा बुझाए पनि यसमा अनुसन्धानले निरन्तरता पाउने सिआइबीकी निर्देशक बज्राचार्यले बताइन् ।

सुन तस्करीको काठमाडौंमा व्यवस्थापन गर्ने दावा छिरिङसँग सयौँ व्यक्तिको सम्पर्क देखिएको छ । अनलाइन च्याटमा शंकास्पद कुराकानी देखिए पनि प्रमाणसँग जोड्न नसक्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेको छैन । जसकारण शंकास्पद व्यक्तिलाई प्रहरीले बयान कागज गराएर छाडेको छ । ‘उनीहरूले निकै चतुर तरिकाले तस्करीको सञ्जाल बनाएको देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘सुन पसलेहरूसँग कारोबार गर्दा सांकेतिक भाषा प्रयोग गरेका छन् भने नाइके र भरियाबीच प्रत्यक्ष सम्पर्क देखिँदैन ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार ०९:००   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।