Logo

समाचार

जलवायु परिवर्तनको असर नेपालका महिलामा बढी : डा राणा



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले जलवायु परिवर्तनको असरबाट नेपालका महिला बढी प्रभावित भएको भन्दै नविनतम प्रविधिमा उनीहरुको पहुँच बढाउनुपर्ने धारणा राखेकी छिन् ।

जापानको टोकियोमा ‘द फाउण्डेशन अफ द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल’ले आयोजना गरेको एसियास्तरीय सम्मेलनमा मङ्गलबार नेपालका तर्फबाट सम्बोधन गर्दै सांसद डा राणाले जलवायु परिवर्तनले पारेको असर कम गर्न जडीबुटी प्रशोधनका लागि आधुनिक प्रविधिका साथै उनीहरुद्वारा उत्पादित परम्परागत औषधिजन्य वस्तुको बजार सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति समेत रहेकी डा राणाले जलवायु परिवर्तन विश्वको मुद्दा मात्रै नभइ नेपालका लागि ठूलो समस्या समेत भएको बताइन् ।

उनले भनिन्, ‘जलवायु परिवर्तनको असरबाट असुरक्षित बनेका मुलुकमा नेपाल चौथो स्थानमा रहेको छ । मौसमी तथा बेमौसमी भारी वर्षाका कारण विभिन्न स्थानमा पहिरो र बाढीले यहाँको जनजीवनमा ठूलो समस्या सिर्जना गरेको छ ।’

जर्मन वाच क्लाइमेट रिस्क इन्डेक्स २०२० का अनुसार सन् १९९९ देखि २०१८ सम्म जलवायु परिर्वतनको असरबाट सबैभन्दा बढी असर पार्ने मुलुकको सूचीमा नेपाल नवौँ स्थानमा रहेको उनको भनाइ छ ।

नेपाल सरकार जलवायु तथा मौसम विज्ञान विभागका अनुसार नेपालको तापक्रम सन् १९७१ देखि २०१४ सम्म वार्षिक औसत शुन्य दशमलव ०५६ डिग्री सेल्सियसले बढेको छ । सन् १९३५ देखि १९९१ को अवधिमा १५ वटा हिमताल बिस्फोट भएका छन् भने हालसम्म २१ वटा हिमताललाई जोखिमको सूचीमा राखिएको छ ।

सन् २०१८ मा विभिन्न स्थानमा गएका पहिराका कारण करिब रु ७० अर्ब बराबरको क्षति हुनुका साथै हजारौँको घर, खेतीयोग्य जमिन र सडकमा क्षति पुगेको छ । वैज्ञानिकहरुले समेत बढ्दो तापक्रमले हिमाली क्षेत्रमा मलेरिया, डेङ्गुलगायतका रोगको जोखिम बढेको उनको भनाइ छ ।

लैङ्गिकरुपमा पनि जलवायु परिवर्तनको प्रभाव र विपद् फरक तरिकाले पार्ने गरेको दृष्टान्त पेश गर्दै उनले जलवायु परिवर्तनले हाल भइरहेको लैङ्गिक असमानतालाई अझ बढावा दिएको र गरिबी, जातीय विभेद, घरबार तथा राज्यबिहीन भएका तथा अपाङ्गता भएकाहरुलाई अझ बढी प्रभाव पार्ने गरेको बताइन् । जलवायु परिवर्तनको नकारात्मक असरका कारण नेपालका महिला र युवतीको जोखिम बढ्ने उनको भनाइ छ ।

हाल नेपालले विश्वको जलवायु परिवर्तनमा एक प्रतिशतको योगदान दिएको छ । साथै नेपालले ४० प्रतिशत वनजङ्गल जोगाउनका लागि प्रतिबद्धता समेत जनाएको छ ।

सो कार्यक्रममा नेपालसहित भारत, कम्बोडिया, मंगोलिया, फिलिपिन्स, श्रीलंका, ताइवान, थाइल्याण्ड, भियतनाम, जापानलगायतका देशको सहभागिता रहेको टाेकियाेबाट डा राणाले जानकारी दिइन् ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार १४:४२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।