काठमाडौं । आज नेपाली नारीहरुको महान पर्व हरितालिका अर्थात् तीज पर्व ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज आज भगवान शिवको पूजा आराधना गरी देशभर मनाइँदैछ ।
तीज पर्वमा पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि बिहान ३ः०० बजे नै मन्दिरको चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए ।
पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा लामको व्यवस्था गरिएको छ । कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने गरी पहिलो लामको व्यवस्था गरिएको छ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिकोमध्ये क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ ।
दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरी व्यवस्था गरिएको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।
तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल बज्रघरअघिको भागमा राखिनेछ ।
चौथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिनेछ ।
पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषले बिहान ६ः०० बजे अगाडि नै दर्शन गराइएको थियो । बिहान ६ः०० बजेपछि भने महिला व्रतालुलाई मात्र पशुपतिनाथ मूल मन्दिरमा प्रवेश दिइएको कोषले जनाएको छ ।
पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायका समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ बिहानी समयमा भक्तजन लाममा बसेको आधा घण्टामा दर्शन गरी फर्किएका छन्।
आज काठमाडौं उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ । यस्तै, उपत्यका बाहिरका शिवालयहरूमा पनि व्रतालुहरूको घुइँचो लागेको छ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।
सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्रीमहादेव पति पाउने कामना गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले उनलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।
प्रतिक्रिया