Logo

समाचार

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज



काठमाडौं । वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको ‘विस एचआर सोलुसन’ प्रालिको इजाजतपत्र (लाइसेन्स नं १४२५/०७४/०७५) खारेज गरेको छ । विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिम उक्त प्रालिको लाइसेन्स खारेज गरिएको र सोही दफाबमोजिम मुद्दासमेत दायर गरिएको जनाएको छ ।

उक्त मेनपावरका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फणिन्द्र कोइरालासमेतको मिलेमतोमा सरिता भुजेललगायत ४३ जनालाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रु तीन करोड ८२ लाख २८ हजार चार सय ९८ रकम लिई वैदेशिक रोजगारीमा नपठाएको र रकमसमेत फिर्ता नगरेको पाइएपछि लाइसेन्स खारेज गरिएको विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए र

उनका अनुसार निज मेनपावरको लाइसेन्स खारेज गर्दै वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दासमेत दायर गरिएको छ । उक्त रकम बिगो र सोको ५० प्रतिशतले हुन आउने हर्जानासमेत निज प्रतिवादीहरूबाट जाहेरीवाला पीडितलाई दिलाई भराई पाउन माग दाबी लिई विभागले वैदेशिक रोजगार न्यायाधीकरणसमक्ष अभियोगपत्र दायर गरिएको निर्देशक एवं सूचना अधिकारी उप्रेतीले बताए ।

प्रकाशित मिति : आश्विन ४, २०८० बिहीबार  ९ : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।