Logo

प्रमुख समाचार

नेपाल र चीनबीच द्विपक्षीय वार्ता आज हुँदै, के-के होलान् सम्झौता ?



काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङबीच सोमबार बेइजिङमा द्विपक्षीय वार्ता हुँदै छ ।

वार्तामा नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) कार्यान्वयनसम्बन्धी सम्झौता, नेपाल–चीन सीमापार विद्युत् व्यापार तथा बीआरआईअन्तर्गत चिनियाँ अनुदानमा एक वा दुई परियोजना निर्माणका विषयमा प्रस्ताव गर्ने सम्भावना छ ।

औद्योगिक पार्क निर्माणका विषयमा पनि चिनियाँ पक्षसँग वार्ताको एजेन्डा छ । प्रधानमन्त्री दाहालले आइतबार बेइजिङस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेट र चीनसँग हुने सम्भावित साझेदारी एवं सम्झौता हुने क्षेत्रका विषयमा बोलेका थिए । हाङचउ सहरमा शनिबार चिनियाँ राष्ट्रपति सीसँगको बैठकपछि प्रधानमन्त्री दाहाल आइतबार बेइजिङ पुगेका हुन् । दाहाल र छ्याङबीचको भेटवार्तामा सोमबार व्यापारिक सन्धि पुनरावलोकन, नेपालमा लगानी, उत्तरी सीमानाका जोड्ने सडक विस्तार, कृषि, प्रविधि, ऊर्जालगायत मुद्दामा छलफल हुने तयारी छ ।

‘चीनका सर्वोच्च नेता सीसँग जसरी हार्दिकतापूर्वक कुराकानी भयो, त्यसले सिंगो प्रतिनिधिमण्डललाई उत्साहित तुल्याएको छ,’ दाहालले भने, ‘कनेक्टिभिटीको क्षेत्रलाई नयाँ मार्गप्रशस्त गर्ने, भौतिक पूर्वाधार, कृषि, उद्योग र शिक्षा सबैलाई नयाँ गति दिएर हामीबीचको आपसी सम्बन्ध मजबुत गराउने विश्वास लिएका छौं ।’ सहमतिका विषयवस्तुलाई अन्तिम रूप दिन नेपाल र चीनका अधिकारीले धेरै मिहिनेत गरेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

कति विषय नेपालले प्रस्ताव गर्ने भन्ने विषयमा अन्तिम टुंगो लागिनसकेको भ्रमण टोलीमा रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । राष्ट्रपति सीसँग सहयोगका विषयमा सैद्धान्तिक सहमति भएको र प्रधानमन्त्री लीसँग बेइजिङमा हुने वार्तामा त्यस विषयमा ठोस सहमति हुने उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालको भ्रमणअघि भौतिक पूर्वाधार, ऊर्जा, सञ्चार, कृषि, उद्योग, शिक्षा र पर्यटन मन्त्रालयले विभिन्न विषयमा प्रस्ताव तयार पारेका थिए । जसमा खाँदबारी किमाथांका सडक निर्माण, धुलिखेल–तातोपानी सडक स्तरोन्नति, खुटिया–दिपायल–चैनपुर–ताक्लाकोट सडक निर्माण, सिमकोट–हिल्सा सडक स्तरोन्नति र टोखा–छहरे सुरुङमार्ग विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) थियो ।

ऊर्जा मन्त्रालयले रसुवागढी–जिलोङ र किमाथांका–चीन प्रसारणलाइन र काठमाडौं उपत्यका विद्युत् सुधारमा सहायताको प्रस्ताव गरेको थियो । उद्योग मन्त्रालयले भने मुस्ताङको कोरला, हुम्लाको यारी र संखुवासभाको किमाथांकामा एकीकृत जाँच चौकी, नेपाल–चीन पारवहन सम्झौता कार्यान्वयन, गोरखा, दार्चुला र बझाङमा थप नाका खोल्नेसहितका विषय अघि सारेको थियो ।

नेपाल र चिनियाँ प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ताअघि सोमबार प्रधानमन्त्री दाहाललाई तियानमेन स्क्वायरमा औपचारिक स्वागत गर्ने कार्यक्रम छ । चिनियाँ प्रधानमन्त्री लीले वार्तापछि नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवा भोज आयोजना गर्दै छन् । प्रधानमन्त्री दाहालले सोमबार नै बेइजिङस्थित नेसनल पिपल्स कंग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्ने कार्यक्रम छ । बेइजिङमा रहँदा प्रधानमन्त्री दाहालले बेइजिङ रिसर्च इन्स्टिच्युट भ्रमण पनि गर्दै छन् ।

प्रकाशित मिति : आश्विन ८, २०८० सोमबार  ९ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।