काठमाडौं । अभियन्ता ई: र काठमाडौं महानगरपालिकाबीच वार्ता हुने भएको छ ।
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित राष्ट्रिय सभागृह अघि उभिएका ईः लगायतसँग मंगलबार दिउँसो साढे दुई बजे वार्ता बस्ने सहमति भएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।
मंगलबारको वार्तामा महानगरबाट प्रवक्ता मानन्धरसँगै दुईजना वडाध्यक्ष, कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य, मेयर बालेनको सचिवालय प्रतिनिधि बस्ने तय भएको छ । आन्दोलनरत पक्षबाट ईः, कानुन विज्ञ, शहरी विकास विज्ञसहित ४ जनाको टोली जानेछ ।
‘आजै दिउँसो साढे दुई बजे वार्तामा बस्ने सहमति भएको छ,’ उनले भने । यसअघि महानगरले ईः लगायतसँग वार्ता गर्न समिति गठन गरेको थियो ।
आज बिहान मात्रै महानगरकी उपप्रमुख सुनिता डंगोलले ईःलाई राष्ट्रिय सभा गृह अगाडि भेटेर कुराकानी गरेकी थिइन् ।















प्रतिक्रिया