काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं महानगरपालिकाविरुद्ध उभिएर धर्ना दिँदै आएका अभियन्ता ‘ई’को जीवन रक्षाका लागि पहल गर्न र साना सडक व्यवसायीहरुलाई वैकल्पिक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगले आफ्नो स्वास्थ्य र जीवनै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रदर्शनका अन्य विकल्प खोज्न अभियन्ता ‘ई’लाई आग्रह पनि गरेको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी विज्ञप्तिमा सो सम्बन्धमा आयोगका सदस्य लिली थापा नेतृत्वको उच्चस्तरीय टोलीले मंगलबार स्थलगत अनुगमन गरेको उल्लेख गर्दै धर्नामा रहेकाको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न हुन भनेको हो । अनुगमनको क्रममा आयोगको टोलीले धर्नाको नेतृत्व गरिरहेका ‘ई’ र उनका साथीहरू एवं धर्नास्थल वरपरका व्यापारीहरूसँग छलफल गरी जानकारी लिएको विज्ञप्तिमा उल्लेख छ ।
रातिको १२ बजेदेखि ५ बजेसम्म कुर्चीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेको, विगत ८ दिनदेखि उभिएर धर्ना गरिरहेका ‘ई’ को दुवै खुट्टा अस्वभाविक रूपमा सुन्निएको, नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, सुन्निएको कम गर्नका लागि चिकित्सकको सल्लाहबमोजिम असोज ८ गतेदेखि औषधी सेवन गरिरहेको लगायतका जानकारीहरू अनुगमनबाट पाइएको छ ।
त्यस्तै, महानगरपालिकाबाट यस विषयलाई संवेदनशील रूपमा नलिएको गुनासो प्रदर्शनकारीले गरेका छन् । आयोगले महानगरका अधिकारीहरूसँग छलफल गरी समस्या समाधानको लागि पहल गरिरहेको छ ।
निज ‘ई’ले उठाएको साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग मानव अधिकार उपभोगसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो ।
नेपालको संविधानको धारा १७ (च) मा नेपालको कुनै पनि भूभागमा पेशा, रोजगारी गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रताको उल्लेख गरेको छ । संविधानको धारा ३३ मा रोजगारीको हकको उल्लेख गरिएको छ ।















प्रतिक्रिया