काठमाडौं । नेपाल सरकारका सचिव रवीन्द्रनाथ श्रेष्ठले बिहीबारदेखि अनिवार्य अवकाश पाएका छन् । शहरी विकास मन्त्रालयका सचिव रहेका श्रेष्ठले उमेर हदका कारण अवकाश पाएका हुन् ।
खानेपानी इन्जिनियरका रुपमा २०४७ सालमा निजामती सेवा प्रवेश गरेका श्रेष्ठले खानेपानी, शहरी विकास, सिँचाइ र सडकसम्बद्ध निकायमा काम गरेका थिए । ०६२ सालमा उपसचिवमा बढुवा भएका श्रेष्ठ ०६६ सालमा सहसचिव बनेका थिए ।
सडक विभागको महानिर्देशक समेत भएका उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि प्राविधिक सहसचिवका रुपमा काम गरेका थिए । उनले सहरी विकास सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिँचाइ मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रमा सचिवका रुपमा काम गरेका थिए ।
श्रेष्ठको अवकाशपछि इन्जिनियरिङ सेवाबाट एक जना सहसचिव सचिवमा बढुवा हुनेछन् । त्यसका लागि सचिव बढुवा सिफारिस समितिले तीन जना वरिष्ठ प्राविधिक सहसचिवको नाम सिफारिस गर्नेछ ।
इन्जिनियरिङतर्फको वरीयताक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रुमख रहेका विश्वबाबु पुडासैनी पहिलो नम्बरमा छन् । उनी लामो समय गुणस्तर तथा नापतौल विभागका महानिर्देशक भएर काम गरेका सहसचिव हुन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रुमख रहेका अर्जुनजंग थापा दोस्रो नम्बरमा छन् । उनी सडक विभागका दोहोरिएर महानिर्देशक बनेका सहसचिव हुन् ।
तेस्रो नम्बरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी कार्यकारी निर्देशक सरिता दवाडी छिन् ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको समितिले तीन जनालाई बुढावाका लागि सिफारिस गर्नेछ । उनीहरुमध्येबाटै एकजनालाई मन्त्रिपरिषदले सचिव बनाउनेछ ।





















प्रतिक्रिया