जनकपुरधाम । सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २५ जना यात्रु घाइते भएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका–२ का ४० वर्षीय राजकुमार सदा र जनकपुरधाम उपमहानगरपालिका–२०का ५२ वर्षीय अनिलकुमार झा रहेका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार घाइते भएकाहरुको गोलबजार स्थित हस्पिटलहरुमा उपचार भइरहेको छ ।
आइतबार दिउँसो सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस स्प्रिङ पट्टा भाँचिएर मिर्चैयाको मारुती सिमेन्ट फ्याक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





















प्रतिक्रिया