Logo

समाचार

न्यूरोडमा युवकको हत्या : दुई युवतीसहित चार जना पक्राउ



काठमाडौं । काठमाडौँको न्यूरोड मखन गल्लीस्थित सानो पशुपतिमा जात्रा हेर्न गएका युवकको हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या ४ पुगेको छ ।

काठमाडौँ महानगरपालिका-२४ हनुमानढोका परिसर अगाडि ओखलढुङ्गा लिखु गाउँपालिका-४ घर भई हाल काठमाडौँ क्षेत्रपाटी बस्ने १७ वर्षीय सनी कार्कीको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-१९ घर भई हाल ललितपुर लुकुसी बस्ने २० वर्षीया सोनिया श्रेष्ठ खड्गी, ललितपुर महानगरपालिका-१९ एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्गी, मकवानपुर हेटौँडा उपमहानगरपालिका-‍२ घर भई हाल काठमाडौँ महानगरपालिका-२४ बस्ने १९ वर्षीया भुमी मल्ल र ललितपुर गोदावरी नगरपालिका-५ घर भई हाल ललितपुर नागाबाहल बस्ने १९ वर्षीय अरबिन ठकुरी रहेका छन् ।

धारिलो हतियार प्रहारबाट सोमबार राति गम्भीर घाइते भएका कार्कीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सपलान्ट सेन्टर महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाको अनुसन्धानको क्रममा घटनास्थलबाट भाग्न लागेको अवस्थामा सन्देश खड्गी र सोनिया श्रेष्ठ खड्गीलाई सोही दिन काठमाडौँ महानगरपालिका-२४ मखनबाट, भुमी मल्ललाई काठमाडौँ क्षेत्रपाटीबाट र अरबिन ठकुरीलाई ललितपुर महानगरपालिका-१६ बाट घटनामा प्रयोग भएको चक्कुसहित मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनीहरू प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : आश्विन १७, २०८० बुधबार  १ : ४९ बजे

1.011k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।