Logo

प्रमुख समाचार

काठमाडौंका तीन स्थानका सडक आजदेखि एकतर्फी



काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका ३ वटा सडक खण्ड आजदेखि एकतर्फी बनाइएको छ । महानगरका ट्राफिकविज्ञ जगतमान श्रेष्ठका अनुसार सडक एकतर्फी बनाउन सबै तयारी पूरा भइसकेको छ ।

श्रेष्ठका अनुसार कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित महेन्द्र शालिकबाट कृष्णपाउरोटी चोकभन्दा तल (काठमाडौं प्लाजानेर) पुग्ने सडक एकतर्फी भएका छन् । यसैगरी त्रिपुरेश्वरतर्फबाट काठमाडौं–ललितपुर जोड्ने सेतोपुल (नयाँ पुल) हुँदै गुसिङ्गाल निस्किने सडक एकतर्फी बनाइएको छ ।

त्रिपुरेश्वरतिरबाट प्रवेश गर्न पाइए पनि ललितपुरतर्फबाट त्रिपुरेश्वरतिर आउँदा नयाँ पुल कटेर वायाँतर्फ मोडिएर आउनुपर्ने छ । त्रिपुरेश्वरबाट ललितपुरतिर जाँदा मिलन टोल, नयाँ पुल हुँदै जानुपर्ने छ ।

यसैगरी जमल र दरबारमार्गबाट रत्नपार्कतर्फ आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडिएर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन पाइने छैन र पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब काठमाडौं प्लाजाबाट वायाँ मोडिएर महेन्द्र शालिकतर्फ जान पाइने छैन ।

सडक एकतर्फी बनाइएको जानकारी दिन ती सडक क्षेत्रमा ट्राफिक प्रहरी र महानगरपालिकाका १०–१० जनाको टोली खटाइएको छ । महानगरले यी सडकलाई एकतर्फी बनाउन तीन महिनाअघिदेखि गृहकार्य थालेको थियो ।

प्रकाशित मिति : कार्तिक १, २०८० बुधबार  ११ : ५० बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।