Logo

प्रमुख समाचार

मोरङमा भीषण आगलागी, आगो निभाउने क्रममा २८ जना घाइते



विराटनगर । पूर्वी मोरङको उर्लाबारी ७ बरगाछीस्थित दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा गएराति आगलागी हुँदा चार प्रहरीसहित २८ जना जलेर सख्त घाइते भएका छन् ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार पसलमा आगलागी भएसँगै खाना पकाउने ग्यासको सिलिण्डर विस्फोट भएको थियो । आगो निभाउन पुगेका सर्वसाधारण र प्रहरी आगोको ज्वालामा परेका थिए ।

घाइतेहरूको झापाको बिर्तामोड, विराटनगर, उर्लाबारीको गोदावरी तथा अरनिको अस्पतालमा उपचार भइरहेको छ ।  ४० देखि ५० प्रतिशतसम्म शरीर जलेका झण्डै एक दर्जन घाइतेको उपचारका लागि काठमाडौं पठाउने प्रयास भइरहेका डिएसपी दाहालले बताए । उनका अनुसार आगलागीबाट कार, मोटरसाइकल र सुनचाँदीसहित घरमा समेत ठूलो क्षति पुगेको तर क्षतिको यकिन हुन सकेको छैन ।

आगलागीमा घर मालिक रुकुमबहादुर कार्की, प्रहरी सहायक निरीक्षक चुडामणि प्रधान, प्रहरी जवान दिलकुमार आचार्य, प्रहरी सहायक हवाल्दार मानवहादुर घिसिङ परेका छन् ।

यसैगरी स्थानीय ऋद्धिकुमार राई, कुमार तामाङ, अलिवावु मन्सुर, विशाल बस्नेत, शिवकुमार विक, नरेश मरिता, दिनेश शर्मा, दीपेन्द्र कार्की, सुमन चौधरी, केलाश गुरुङ, सुजन सेङदाङ, लालबहादुर लिम्बु, कविराज दाहाल, तपन पण्डित, विक्रम साह, प्रकाश लिम्बु, नविन थापा, हेमकुमार दाहाल, करण संग्रौला, तारामान सेरेङ, नेत्र भण्डारी, राजन लुइटेल र रवि तामाङ लगायत २८ जना सख्त घाइते छन् ।

 

प्रकाशित मिति : कार्तिक २७, २०८० सोमबार  १२ : ५४ बजे

441
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।