धनगढी- कैलालीको अत्तरियामा शुक्रबार साँझ ट्रकको ठक्करबाट एक महिलाको ज्यान गयो। धनगढीबाट अत्तरियातर्फ गइरहेको मप्र ०३०१ख९६५० ट्रकको ठक्करबाट डोटीको शिखर नगरपालिका–२ बस्ने ६० वर्षीया भगवती रोस्यारा ‘कटी दिदी’को मृत्यु भयो।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी रोस्याराको उपचारका क्रममा राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। डोटीमा उनी ‘कटी दिदी’ नामले परिचित थिइन्। सबैले उनलाई प्रेमपूर्वक कटी दिदी भन्थे।
कैलाली आएको समयमा उन्को इहलिला समाप्त भयो। उनी जिउँदो छँदा उनी भन्थिन्, ‘म मरेको कसैले थाहा पाउने होइनन्, म मर्दा कोही पनि रुने होइनन्, मेरो काजकिरिया कसैले गर्ने होइनन्, मैले त मर्दा कात्रो पनि पाउँदिन होला।’
तर, उनको निधनको खबर सबैले थाहा पाए। डोटीका थुप्रै मानिसको सामाजिक सञ्जाल उनीप्रतिको श्रद्धाञ्जलीले पोतियो।
एकदमै मिलनसार र मिहिनेती भएकै कारण कटी दिदीले संसार छोड्दा धेरैलाई रुवाएको हो। कटी दिदीको सानैमा विवाह भयो। उनीबाट सन्तान पनि भए। तर, सन्तान बाच्न सकेनन्। उनका श्रीमान्ले अर्कै विवाह गरे।
कटी दिदीलाई सेतो दुबि पनि देखिन थाल्यो। त्यसपछि उनी परिवारकै सदस्यबाट छिछि र दूरदूरको पात्र बनिन्। परिवारले साहरा नदिएपछि उनी आफन्तका घरमा आश्रय लिन पुगिन्।
उनी प्राय दीपायलको पिपल्ला बजारतिर भेटिन्थिन्। स्थानीय रामबहादुर बोगटीको घरमा नै उनको अधिकांश बास हुन्थ्यो।
उनलाई पिपल्ला बजारको दर्के झरिले भिजाएको छ। चर्को घामले डामेको छ। मच्छरले रगत चुस्दै आफ्नो प्राण जोगाएका छन्। समाज परिवर्तनका विभिन्न आन्दोलनमा सहभागि भएकी छन्।
दीपायमा हुने सबै ठूला आन्दोलनमा उनी अग्रमोर्चामा देखिन्थिन्। आफू बसेको क्षेत्रको नेतृत्व लिन्थिन्। उनी २०६२/०६३ को जनआन्दोलनदेखि अखण्ड सुदूरपश्चिम आन्दोलनमा अग्र मोर्चामा सहभागी पात्र हुन्।
उनको जन्म ब्राहमण समुदायमा भए पनि जातिय विभेदविरुद्धकी सशक्त योद्धा थिइन् कटी दिदी। उनले अरुको कमाइ कहिल्यै खाइनन्। कसैले प्रेमपूर्वक दक्षिणा दिँदा नाइ भनिनन्। नत्र आफूले मिहिनेत गरेर नै जिविको पार्जन गरिन्।
जीवनभर अनागरिक भएर बसेकी उनले नागरिकता पाएको केही वर्षमात्रै भएको थियो। नागरिकका रूपमा खुसी साट्दै बुढेउली जीवन जिउने उन्को सपना मंसिर १ मा चुडियो।
भनिन्छ, दु:खीलाई सधैँ दु:ख नै हुन्छ। कटी दिदीको जीवनमा पनि त्यस्तै भयो। उनले कहिँले खुसीको स्वास फेर्न पाइनन्। जीवनभर दु:ख पाएर बाचेकी कटी दिदीको निधन निकै दुखद् रह्यो।
कटी दिदी तिहारमा माइतीघर आएकी थिइन्। कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित राजघाटमा उनी आफ्दा दाइ–भाइ र भदुहरूसँग टीका लगाउन आएको समयमा नै उनको दुखद् निधन हुन पुग्यो।
उन्को स्वाभिमान र डोटीमा रहेर खेलेको उन्को भूमिकालाई स्मरण गर्दै सामाजिक सञ्जालमा कटी दिदीको निकै स्मरण भएको छ।
नेकपा एकीकृत समाजवादीकी सुदूरपश्चिम प्रदेशसभा सदस्य पूर्णा जोशीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म मरेको कसैले थाहा पाउने होइनन्, म मर्दा कोही पनि रुने होइनन्, मेरो काजकिरिया कसैले गर्ने होइनन्, मैले त मर्दा कात्रो पनि पाउँदिन होला। यस्तै यस्तै चिन्ता गर्नुहुन्थ्यो कटी दिदीले। कैलालीको अत्तरियामा ट्रकको ठक्करबाट मृत्यु भयो रे भन्दा तपाईंलाई चिन्ने सबै रोएका छन्। तपाईंको मृत्युको खबरले सबैलाई स्तब्ध बनाएको छ। रेडियोमा समाचारदेखि सामाजिक सञ्जालमा तपाईंको मृत्युको दु:खद समाचार छाएको छ। बेसहारा भए पनि मेहनतको कमाई र माया गरेर दिएको दक्षिणा बाहेक तपाईंले मागेर, चोरेर खानु भएन। आज सिंगो डोटी रोएको छ दिदी। तपाईंप्रति भावपूर्ण श्रद्धाञ्जली । बैकुण्ठ बास होस्।’
कांग्रेस नेता पुष्षकुमार शाही लेख्छन्, ‘भेट्दा सधैं विजयको आशिर्वाद दिने कटी दिदीप्रति भाबपूर्ण श्रद्धाञ्जली।’
पत्रकार पुष्पराज जोशीले पनि उनको निधनप्रति गहिरो समवेदना प्रकट गरेका छन्। ‘२०६९ साल असोज २० गते शनिबारका दिन भगवतीदेवी रोस्यारा उर्फ ‘कटी दिदी’ का बारेमा नागरिक दैनिकमा लेखेको थिएँ। त्यो बेला पत्रिकामा समाचार छापिएपछि उही पत्रिका समातेर दिपायल बजारभरि देखाउँदै हिँडेकी थिइन्। उनै ‘कटी दिदी’ भाइ टीकामा टीका लगाउन राजघाट रहेका माइती घर पुगेकी थिइन्। दिपायल फर्किने बेलामा अत्तरियामा ट्रकले किचेर उनको घटना स्थलमै मृत्यु भएको छ। हार्दिक श्रद्धा सुमन कटी दिदी”, उनले लेखेकी छन्।
यसरी कटी दिदीको निधनमा राजनीतिज्ञ, पत्रकार, समाजसेवीदेखि विभिन्न व्यक्तिले श्रद्धाञ्जली अर्पण गर्दै उनको स्मरणमा फाउन्डेसन वा प्रतिक्षालय निर्माण गर्नुपर्ने बताइरहेका छन्।
पत्रकार मोहन शाहीले उन्को स्मरण गर्दै लेखेका छन्, ‘समाजका लागि सम्झने योग्य विवादरहित पात्र हुन् कटी। उहाँको सम्झनामा कल्याणकारी कार्य थाल्दा कस्तो होला। के गर्दा उपयुक्त होला। आम नागरिकको सहयोग, सद्भाव जुट्ने गरि कुनै योजनाको लागि सुझाव सल्लाहा पाउँ।’
प्रतिक्रिया