नेपालमा धार्मिक तथा सांस्कृतिक रुपमा दियो बाल्ने परम्परा छ । तर हिजोआज दियो बाल्ने परम्परालाई विस्तारै क्यान्डिल बाल्ने परम्पराले विस्थापन गर्दै छ । विश्वभर क्यान्डिलको विभिन्न प्रयोग हुने गरेको छ । अहिले मन्दिरमा बत्ती बाल्न होस् वा जन्मदिन मनाउँदा होस्, दियोभन्दा क्यान्डिलको प्रयोग ह्वात्तै बढेको छ । राख्नलाई सहज हुने, बोकेर हिड्न सहज हुने र बाल्न र निभाउन पनि सहज हुने भएकाले क्यान्डिलको प्रयोग दियोको बदलामा फस्टाउँदै गइरहेको छ । नेपालमा पनि तिहारलगायतका पर्वमा क्यान्डिलबाट बनेका समानको उच्च माग हुने गर्दछ । यीनै अवसरलाई व्यवसायमा बदल्ने आँट गरेर नेपाल फर्किएकी आस्मा ढुङ्गानाले नेपालमा कान्डिललको भविष्य सुखद देखेकी छिन् ।
आस्मा अर्थछ्या फाउन्डेसनकी अध्यक्ष हुन्। अर्थशास्त्रमा स्नातकोत्तर तह अध्ययन गरेकी ढुङ्गाना आर्थिक क्षेत्रको अध्ययन र अनुसन्धानमा सक्रिय छिन्। विदेशमा रहेर अध्ययन गरेकी उनी नेपालमा फर्किसकेपछि आर्थिक नीतिका बारेमा काम गरिरहेकी छिन्। मुलुकमा आर्थिक समृद्धि हासिल कसरी गर्न सकिन्छ भन्नेमा उनको ध्यान केन्द्रित छ। यसका साथै महिलाहरूलाई उनी उद्यमशीलता सम्बन्धी तालिम पनि प्रदान गरिरहेकी छिन्। फाउन्डेसनका माध्यमबाट ढुङ्नाको टिमले क्यान्डिल पनि उत्पादन गरिरहेको छ। आज हामीले अनलाइन पानाका लागि ढुङ्गानासँग फाउन्डेसनले गरिरहेका गतिविधिबारेमा संवाद गरेका छौं।
अर्थछ्या फाउन्डेसनले के गर्छ, फाउन्डेसनका माध्यमबाट तपाईंहरूले के-कस्ता काम गरिरहुनु भएको छ?
अर्थछ्या पाउन्डेसन हामीले सन् २०२२ मा स्थापना गरेका हौं। फाउन्डेसन स्थापना भएको एक वर्षमात्रै भएको छ। एक वर्ष भनेको निकै छोटो अवधि हो। तर, पनि मुलुकको आर्थिक क्षेत्रमा टेवा पुर्याउने उद्देश्यका साथ यसको स्थापना भएको हो। नेपालमा कोरोना महामारीपछि आर्थिक रणनीतिबारेमा अध्ययन भएको पाइँदैन। म विदेशबाट अर्थशास्त्र अध्ययन गरेर स्वदेशमै केही गर्नुपर्छ भनेर फर्किए। त्यसपछि आर्थिक क्षेत्रका बारेमा अध्ययन गर्ने र सरकारलाई आर्थिक नीतिमा सहयोग पुर्याउने उद्देश्यका साथ हामीले यो फाउन्डेसन स्थापना गरेका हौं। हामीले केही समय आर्थिक साक्षारताका क्षेत्रमा पनि काम गर्यौं।
महिला उद्यमशीलताका क्षेत्रमा पनि तालिम प्रदान गर्छौं। हामी वर्षमा एक पटक सिंहदरबारमा पनि भ्रमण गर्छौं। विभिन्न मन्त्रालय र निकायमा हामीले गरेको अध्ययन र सर्वेक्षणका बारेमा सरकारलाई जानकारी प्रदान गर्छौं। त्यसो गर्दा सरकारलाई आर्थिक नीति अवलम्बन गर्न सहज होस् भन्ने हाम्रो सोच रहेको छ। हामी नाफारहित संस्था हौं। हामीले महिलाहरूलाई आर्थिक क्रियाकलापमा सक्रिय हुन सिकाइरहेका छौं। बैंक खाल्नेदेखि आर्थिक समृद्धि कसरी हासिल गर्न सकिन्छ ? कसरी पैसा बचाउन सकिन्छ ? भन्ने विषयमा उहाँहरूलाई तालिम प्रदान गर्दै आएका छौं। हामीले फाउन्डेसनलाई सक्षम बनाउन र महिलाहरूलाई उद्यमशीलताका बारेमा सिकाउन क्यान्डिल उत्पादन गरिरहेका छौं।
क्यान्डिल फाउन्डेसनले नै उत्पादन गरिरहेको छ?
हो, क्यान्डिल फाउन्डेसनले नै उत्पादन गरिरहेको छ। हामीले तिहारमा थुप्रै उत्पादन बजारमा पठायौं। अहिले हामीले ५० प्रकारका क्यान्डिल उत्पादन गरिरहेका छौं। नेपालमा गुणस्तरीय क्यान्डिलको राम्रो सम्भावना छ।
कुन नाममा तपाईंहरूका उत्पादन उपभोक्ताले बजारमा पाउन सक्नुहुन्छ? यस्को उत्पादन कसरी हुन्छ?
नित्या वयलनेस नाममा हाम्रा क्यान्डिल बजारमा छन्। नेपालमा ह्यान्डिक्राफ्ट भन्ने वित्तिकै निकै कमसल सामान पाइन्छ। तर, हामीले गुणस्तरमा ध्यान दिएका छौं। हामीले पेट्रोलियमको कुनै मात्रा प्रयोग गर्दैनौं। हामी पूर्णरूपमा वेस्टफूल वयल, वेस्टफूल वाक्स र बिज वाक्स प्रयोग गर्छौं। बिज वाक्स पनि हामीले काभ्रेबाट खरिद गरेर रिफाइन गरेर बनाउँछौं। यो पूर्ण नेपाली उत्पादन हो। नेपाली कच्चापदार्थको प्रयोग भएको छ। यसको प्याकिङ पनि नेपाली कागजबाटै हुन्छ।
तपाईंका उत्पादनको बजार मूल्य कति छ?
सबै चिजको जोहो नेपालमै गरेर बनाउनु पर्ने भएकाले हाम्रा सामानको मूल्य अलि महँगो छ। हाम्रा उत्पादन तीन सयदेखि १८ सयसम्मका पनि छन्। १८ सय मूल्यको क्यान्डिल ६० घण्टासम्म बल्छ। तीन सय मूल्यको क्यान्डिल पनि तीन घण्टा बल्छ। हामीले बजारिकरणमा सानो टिम भएकाले खासै ध्यान दिन सकेका छैनौं। तर, नेपाल र विदेशमा हाम्रा उत्पादनलाई बेच्ने योजनामा हामी छौं। सोही मार्गमा छौं। हामी क्वालिटीको मापदण्ड हेरेर मात्र मूल्य तिर्न भन्छौं। तिहारमा पाँच सय ६ पिस र १८ सय पर्नेको मूल्य हजार राखेर बजारमा ल्याउने गर्छौं।

नेपालमा र देश बाहिर यसको बजारिकरणको कस्तो रणनीति बनाउनु भएको छ?
नेपालमा हामी भौतिकरूपमा र अनलाइनका माध्यमबाट बजारिकरण गररहेका छौं। अहिले हाम्रो उत्पादन कम छ। उद्योगको आकार पनि सानो छ। अहिले हामीले आफ्नै स्टोर तयार पारेर राख्न सकेका छैनौं। त्यो पनि गर्ने योजना छ। अहिले हामिले होटलमा भौतिकरूपमै उपस्थित भएर मार्केटिङ गरिरहेका छौं। आफ्नै पोर्टलबाट पनि बेचिरहेका छौं। दराज, सस्तो एप लगायत अनलाइन प्लेटफर्महरूको पनि प्रयोग गरिरहेका छौं।
तपाईंहरूका उत्पादन नेपालमा कुन-कुन बजारमा पाउन सकिन्छ?
हामीले बुटवल, विराटनगर, पोखरा, काठमाडौं, धनगढीलगायतका बजारमा आजसम्म हाम्रा उत्पादनलाई पठाएका छौं। यस्को बजार विस्तार गरिरहेका छौं र गर्दै जाने छौं।
कति जनाको टिममा रहेर काम गरिरहनु भएको छ?
हाम्रो नियमित उत्पादन र माग छैन। यो सिजनल सामान हो। गिफ्टका लागि प्रयोग हुने सामान हो। चाड पर्वका समयमा हाम्रा सामानको माग बढ्छ। हामीले त्यो समयमा चार/पाँच जनालाई रोजगारी दिइरहेका हुन्छौं। तालिम पनि प्रदान गरिरहेका हुन्छौं। दैनिक माग भयो भने हामीले जनशक्ति पनि बढाउँदै लैजाने छौं। तिहारमा २० जनालाई रोजगार दिएका थियौं। हाम्रो दियो बाल्ने परम्परा छ, क्यान्डिल बाल्ने संस्कार छैन। यो संस्कारको विकास युवा पुस्तामा बढ्दो छ। त्यसैले यसको बजार र माग पनि विस्तारै बढ्दै जानेमा म विश्वस्त छु।

तपाईंहरूले श्रीमान्हरू वैदेशिक रोजगारमा गएका महिलाहरूलाई लक्षित गरी तालिम प्रदान गर्नुहुन्छ रे, तपाईंहरूको रोजाइमा त्यो समूह किन पर्यो?
श्रीमान्ले विदेशमा दु:ख गरेर पठाएको पैसा श्रीमतीहरूले सही सदुपयोग गरुन् भन्न चाहिरहेका छौं। अर्को कुरा काठमाडौंमा कृषक महिला पाउनै गाह्रो। त्यसैले उहाँहरूलाई रोजेका हौं।
फाउन्डेसनले आगामी दिनमा कस्ता सामाजिक कार्य गर्ने लक्ष्य राखेको छ?
हामीसँग आगामी दिनमा सामाजिक कार्य गर्ने लक्ष्य त छ। तर, भरखर स्थापित भएका छौं। हामीले आर्थिक क्षेत्रमा काम गर्ने नै छौं। विभिन्न क्षेत्रका व्यक्तिहरूलाई आर्थिक समृद्धि कसरी हासिल गर्न सकिन्छ भनेर तालिम दिने गर्छौं। हामी फाउन्डेसनको बोर्डमा पाँच जना छौं।
तपाईं त विदेशमा अध्ययन गर्नुभएको मान्छे, के सम्भावना देखेर स्वदेश फर्किनु भयो?
जहाँ पनि सम्भावना हुन्छ। हामीले देशमा निराशामात्र देख्नु हुँदैन, सम्भावनाको पाटोलाई पनि देख्नुपर्छ। देशमा आवश्यकता के छ भन्ने कुरालाई महसुस गर्नुपर्छ। मैले बाहिर गएर धेरै कुरा बुझ्ने अवसर पाएँ। तर, त्यहीँ हराउने होइन। नेपालमा दु:खको कुरा सरकारले दिनुपर्ने सेवा दिँदैन। त्यसकारणले काम गर्न गाह्रो छ। सरकारले हामीलाई उत्साहित हुने काम गरिरहेको छैन। सरकारले सहज कर्जा दिने भनेको छ। तर, त्यस्को सफल कार्यान्वयन हुँदैन। म सरकारलाई स्वदेशमै केही गर्न चाहने युवालाई सहयोग गरिदिन आग्रह गर्दछु।


















प्रतिक्रिया