Logo

अवैध जडिबुटी सहित पाँच जना पक्राउ



बेसीशहर नगरपालिका-८ नारायणस्थानबाट विभिन्न प्रकारका अवैध जडिबुटी सहित पाँच जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा लमजुङ दोर्दी गाउँपालिका-८ बस्ने ३१ वर्षीय कर्ण गुरुङ, मनाङ नार्फु गाउँपालिका-२ बस्ने ४५ वर्षीय लाम्पा छिरिङ लामा, मनाङ नेस्याङ गाउँपालिका-३ बस्ने २९ वर्षीय पल्मु लामा, लमजुङ बेसीशहर नगरपालिका-८ बस्ने ४४ वर्षीया शान्ता कुमारी तामाङ र ४६ वर्षीय मिन बहादुर तामाङ रहेका छन् ।

 पक्राउ परेकामध्ये कर्ण, लाम्पा र पल्मुको साथबाट अवैध जडिबुटी १६ किलोग्राम जटामसी, १ सय २४ किलोग्राम बुकीफुल, ५३ किलोग्राम धुपिपात, ९ किलोग्राम सुनपाती र १३ किलोग्राम भोजपत्र बरामद भएको छ । मनाङबाट ग.१ ज ७४५३ नम्वरको जिपमा अवैध रुपमा जडिबुटी ओसारपसार हुँदैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा कर्णले चलाएको उक्त जिपमा लुकाई राखेको जडिबुटी सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरीले शान्ता कुमारी तामाङलाई उनकै घरबाट प्रतिबन्धित जडिबुटी पाँचऔले ८ किलोग्राम सहित तथा मिन बहादुर तामाङलाई ३.५ किलोग्राम प्रतिबन्धित जडिबुटी पाँचऔले, अवैध जडिबुटी ५३ किलोग्राम निरमसी, १४ किलोग्राम मजिठो, २ सय ४१ किलोग्राम पिप्ला, ८.५ किलोग्राम सतुवा, २.५ किलोग्राम जटामसी, १ सय ६ किलोग्राम ढालिङ, ५४ किलोग्राम कुड्की सहित पक्राउ गरेको हो ।

बरामद जडिबुटीको अनुमानित बजार मूल्य करिब १९ लाख ३२ हजार २ सय ९० रुपैयाँ रहेको र उक्त जडिबुटी सहित उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय लमजुङ पठाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार ०९:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।