काठमाडौं। ‘ग्यालेक्सी टेलिभिजन’ बन्द भएको छ। टेलिभिजन सञ्चालक गितेन्द्रबाबु राई (जीबी) सहकारी ठगी प्रकरणमा फरार भएसँगै टेलिभिजन बन्द भएको हो। पाँचदिन अघिदेखि सो टिभीमा कुनै पनि सामग्री प्रसारण भएको छैन। फेसबुक पेज र युट्युबसमेत अपडेट छैन ।
स्याटलाइट लाइन भने नकाटिएकाले टेलिभिजन प्रशासनले गीत मात्रै बजाइरहेको छ । ग्यालेक्सी टीभीमा कर्मचारी र पत्रकारसहित झन्डै ८० जना कार्यरत छन् ।
अधिकांशले ६ महिनायताको तलब पाउन बाँकी छ। तलब नपाएर पत्रकार तथा कर्मचारीले आन्दोलन गरेपछि टेलिभिजन बन्द भएको हो।रवि लामिछानेले गत साल पार्टी खोलेपछि टिभी छाडेका थिए । उनले एक वर्षभन्दा बढी काम गरेनन् ।
टीभीका अध्यक्ष गितेन्द्रबाबु राई सहकारी ठगी प्रकरणमा फरार छन् । देशभर सहकारीको नेटवर्क खडा गरी १६ अर्बभन्दा बढी ठगीको आरोप लागेका जीबीविरुद्ध पर्सा अदालतले पक्राउ पुर्जी जारी गरेको छ। त्यसपछि उनी भागेका हुन् ।
उनका अर्का व्यावसायिक साझेदार कुमार रम्तेल भने पक्राउ परेका छन् । दुवैविरुद्ध वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको उजुरी छ ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको आरोपमा जिल्ला अदालत कास्कीले पनि अध्यक्ष राई र रम्तेलसहित १३ जनालाई पक्राउ पुर्जी जारी गरेको छ। ६ महिनायता तलब नपाएका ग्यालेक्सी टीभीका कर्मचारी तथा पत्रकारले पनि उनीहरूविरुद्ध श्रम अदालतमा मुद्दा हाल्ने तयारी गरेका छन् ।
प्रतिक्रिया