Logo

प्रमुख समाचार

कैद भुक्तान सकिने दिनमै मोरङ कारागारका कैदीको मृत्यु



विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर-१० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज बिहान ६ः४५ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार कारागार प्रशासनले उनलाई कोशी अस्पताल ल्याएको थियो । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार सहनी कैद भुक्तान गरी आज छुट्ने दिन थियो ।

मृतकका आफन्तहरूले भने समयमै जानकारी नदिएको उपचारमा लापरबाही भएको भन्दै अहिले अस्पताल परिसरमा नाराबाजी सुरु गरेका छन् ।

सहनी २०७९ माघ १७ गतेदेखि कारागारमा कैद भुक्तान गर्दै आएका थिए । लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मङ्सिर २० गते १० महिना २२ दिन कैद सजायको फैसला सुनाएको थियो । अदालतले फैसला गरेपछि उनी फरार थिए । २०७९ माघ १७ गते पक्राउ परेपछि उनलाई अदालतमा उपस्थिति गराएर कारागार चलान गरेको थियो ।

आज बिहानसम्म मोरङ कारागारमा पुरुष ९४८, महिला ८९ र नाबालक ७ जना गरी जम्मा १ हजार ४४ जना कैदीबन्दी रहेका छन् ।

मोरङ कारागारमा केही दिन अगाडि एक जना बन्दीको पनि मृत्यु भएको थियो । मोरङको लेटाङ नगरपालिका–४ घर भएका ३७ वर्षीय केशरबहादुर भुजेलको शङ्कास्पद मृत्यु भएको भन्दै परिवारले छानबिनको माग राखेका थिए । पछि जिल्ला प्रशासन कार्यालय मोरङले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेर छानबिन गर्दै आएको छ ।

प्रकाशित मिति : पुष ९, २०८० सोमबार  ११ : ४९ बजे

300
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।