गोपीनाथ मैनाली नेपाल सरकारका पूर्वसचिव हुन्। स्वच्छ छविका मैनाली मैनाली सधैँ सार्वजनिक प्रशासन सुधारको क्षेत्रमा वकालत गरिरहेका हुन्छन्। स्थायी सरकारको रूपमा रहेको कर्मचारी प्रशासन स्वच्छ छविको भएमा मुलुकको विकासलाई कसैले रोक्न नसक्ने उनको ठहर छ। सदाचारी कर्मचारी बनेमा मुलुक समृद्ध हुने उनको बुझाइ छ। एउटा असल कर्मचारीले नेतालाई पनि सही सुझाव दिन सक्नुपर्छ भन्ने मैनालीलाई लाग्छ। आज अनलाइन पानाका लागि यज्ञराज जोशीले मैनालीले सोही पेरिफेरिमा रहेर संवाद गरेका छन्।
लोकसेवाप्रतिको आकर्षण कस्तो पाउनु भएको छ?
नेपाली बजारमा जब नै छैन। त्यस कारण युवाहरूको लोकसेवाप्रतिको आकर्षण बढ्दो छ। युवा भइसकेपछि युनिभर्सिटी पास हुन्छ। त्यसपछि मैले केही काम गर्नुपर्छ भन्ने सोच पलाउँछ। धेरै मानिस त्यसरी आइरहेका छन्। अरू भनेका मैले राष्ट्रसेवा पनि गर्नुपर्छ भन्ने सोचका साथ आइरहेका छन्। वृत्ति सेवा र राष्ट्र सेवालाई मैले साथसाथै माथि लैजानुपर्छ भन्ने दृष्टिकोणबाट आउनु भएको छ। अहिले हजारौं युवाहरू प्रतिस्पर्धात्मक परीक्षाबाट विभिन्न सरकारी सेवामा व्यापक तयारी गरेर आइरहनु भएको छ।
त्यत्रो दुःख गरेर आएका युवाहरू सेवामा प्रवेश गरेपछि सन्तुष्ट भएको पाइँदैन। उनीहरू सरकारी सेवाबाट जीविको पार्जन नै गर्न गाह्रो छ भन्छन्, के यो साँचो हो?
निजामती सेवाले सार्वजनिक सेवाका कुनै पनि पदलाई पर्याप्त सेवा सुविधा छैनन्। तल, भत्ता, अन्य सुविधाहरू, विधाहरू, औषधि उपचारहरू, स्वास्थ्य सेवाका कुराहरू, बच्चाहरूलाई पढाउने कुराहरू पर्याप्त रूपमा उपलब्ध छैन। यसकारणले व्यक्तिलाई निजामती सेवामा आएर मैले राष्ट्र सेवा गर्छु, वृत्ति सेवा गर्छु, म धेरै माथि पुग्छु भन्ने दृष्टिकोण राख्न सक्ने अवस्था छैन।
मन चिन्तामुक्त हुनुपर्यो?
अँ। त्यहाँको सेवाले उहाँहरूको जीवन धानेन। त्यसरी जीवन नधानिसकेपछि एउटा पाटो सेवाबाट बाहिर रहेर कर्पोरेट सेक्टरमा जाने वा वैदेशिक रोजगारमा जाने समस्या हामीले देख्यौं। अर्को कुरा त्यही भित्र लामो हात गर्ने गरेको देख्यौं। सदाचारिता भन्दा गिरेर काम गर्ने देख्यौं। तेस्रो प्रकारको कर्मचारी पनि छन्। उनीहरू म निजामती वा सार्वजनिक प्रशासनमा आउनु भनेको धनी बन्न, ठूलो घर बनाउन, राम्रो गाडी चढ्न, बच्चाहरूलाई ठूलो स्कुलमा पढाउन नभई मैले डेडिकेटेड भएर देशको सेवा गर्नुपर्छ र मैले त्यो गर्छु भनेर आउनु भएको भाइबैनीहरू, कर्मचारी देखेका छौं। तेस्रो पक्षले राष्ट्रलाई यहाँसम्म ल्याइपुर्याउन, अहिलेको अवस्था कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ। त्यो ग्रुपको ठूलो योगदान छ। उहाँहरूलाई हामीले नमन गर्नुपर्छ।
सेवा सुविधाको कुरा गर्दा राष्ट्रको ढुकुटी कस्तो छ, राष्ट्रले कति पे गर्न सक्छ? जनताले कति कर दिन सक्छन् भन्ने सापेक्ष हेर्नुपर्छ। अहिले काठमाडौंमा मूल्य वृद्धि छ। काठमाडौंमा घर, आधारभूत कुराहरू प्राथमिक स्वास्थ्य, प्राथमिक शिक्षा, प्राथमिक मनोरञ्जनको लागि पर्याप्त तलब छैन। तर, त्यो नभएता पनि यसको अन्य फाइदाहरू छन्। पेन्सन पाइन्छ। यसले दिने दीर्घकालीन फाइँदा हेर्दा छि भन्ने खालको छैन। समाज जस्तो हो प्रशासन त्यस्तै हुन्छ। त्यहाँ पाउने सुविधा त्यस्तै हुन्छ। समाजको आर्थिक स्तर माथि भइदिएको भए कर्मचारीको सेवा-सुविधा र अन्य बेनिफिट बढ्थ्यो। तर, पनि धेरै छि भन्ने खालको छैन भन्छु मैले।
लोकसेवा आयोगले स्वच्छ छविका व्यक्ति पठाउँछ, तर सेवामा प्रवेश गरिसकेपछि उहाँहरूको मति भ्रष्ट भएको सुनिन्छ। यस्तो किन हुन्छु? यस्ता कुराले तपाईंहरूको मुटु कटक्क काट्दैन?
अवश्य पनि काट्छ। त्यो स्थिति पहिला भन्दा झन् बढेर गएको छ। यसो हुनुको अर्थ नेपालको सार्वजनिक प्रशासन प्रणालीबद्ध छैन। तदर्थ रूपमा चलेको छ। आस्थामा विभाजित छ। नराम्रो गर्ने व्यक्तिलाई राजनीतिक र सामाजिक संरक्षण छ। त्यस कारण सार्वजनिक प्रशासनमा प्रवेश गरेको छोटो समयमा नै उसले ठूलो विलासिताको सपना देख्न थाल्छ। निजामती सेवा व्यापारी जस्तो विलासिता देखाउने वा राजनीतिक पदाधिकारी जस्तो अनुशासन हीन हुने होइन यो। राजनीति जस्तो यो अनुशासन हीन हुन पाउँदैन। व्यापारीको जस्तो ठूलो भाग खाने, मोज मजा गर्ने यसको त्यस्तो पनि होइन। यसले त आफ्नो समाजलाई सेवा दिएर, समाजको मियोको रूपमा रहेर माथि पुर्याउने हो। अहिले नियामक संस्थाहरू, राजनीतिक संस्थाहरू, कार्यकारीहरू सबैले एउटा प्रणाली बनाउने भन्दा पनि यो प्रणाली त्यत्तिकै चल्छ भन्ने भाष्यको विकास गरेका छन्।
२०४७/०४८ सालबाट नेपालको कर्मचारीमा युनियनवादको सुरु भयो। त्यो समयदेखि कर्मचारीहरू आस्थामा विभाजित भए। आस्थामा विभाजित भइसकेपछि पेसा अवलम्बन गर्ने व्यक्तिहरू राजनीतिकृत भए।
यसले केही नराम्रो सोच राख्ने कर्मचारी साथीहरूले सिस्टमलाई अरू बिगार्ने कामहरू गर्नुभयो। त्यो कामहरू गरिसकेपछि उहाँलाई दण्ड जरिवाना कम भयो वा भएन। त्यो हुँदा राम्रो काम गर्ने साथीहरूमा यसको लहरे असरहरू पर्दै गयो। असर पर्दै गएपछि समग्र व्यतिथि नै प्रणाली हो कि भन्ने अवस्थामा अहिले पुगेको छ। यो स्थितिबाट हामी निराश हुनु हुँदैन। यो स्थिति सुधार गर्नुपर्छ। यो स्थिति सुधार गर्नका लागि अहिले सेवामा प्रवेश गर्नु भएको भाइबहिनीहरूलाई अभिमूखिकरण गर्नुपर्छ। जागिरको सुरुको दिनदेखि नै नैतिकताको कुरा सिकाउनुपर्छ। प्रणालीले अवसर नभई जिम्मेवारी दिएको हो भन्ने सिकाउने र स्वाभाविक रूपमा म सदाचारी, नैतिकवान् बन्नुपर्छ भन्ने भावनाको जागृत गराउनु पर्छ। त्यो भावनाको विकास गर्ने काम समाज, संस्था र सरकारको दायित्व हो। त्यसको निगरानीका लागि सञ्चार जस्तो संस्थाहरू पनि सक्रिय हुनुपर्छ।
पछिल्लो समय कर्मचारीहरू नेताहरूको नजिक हुने प्रवृत्ति देखिँदो छ, यो कुराले पनि भ्रष्टाचार मौलाउनमा कतै टेवा पुर्याएको देखिन्छ नि है?
एकदमै सही हो। २०४७/०४८ सालबाट नेपालको कर्मचारीमा युनियनवादको सुरु भयो। त्यो समयदेखि कर्मचारीहरू आस्थामा विभाजित भए। आस्थामा विभाजित भइसकेपछि पेसा अवलम्बन गर्ने व्यक्तिहरू राजनीतिकृत भए। त्यो प्रदूषित हुन्छ। प्रदूषित मानसिकताले दिने प्रदूषण नै हो। व्यक्तिलाई दुई दृष्टिकोणबाट हेर्नुपर्छ। उसको अभिरुचि कस्तो छ भन्ने हेरेर सार्वजनिक सेवामा प्रवेश गराउनुपर्छ। केही राम्रो रूपमा लैजान सक्ने व्यक्तिहरू हुन्छन्। ती व्यक्तिका लागि अभिमूखिकरण गर्नुपर्छ। अभिमूखिकरण गर्न नसकेको अवस्थामा राजनीतिले भोट बैंकका लागि आक्रमण गर्यो। आफू सत्तामा टिकिरहन राजनीतिले विभिन्न आवश्यक अनावश्यक प्रभावमा पार्ने काम गर्यो।
यसरी राजनीतिले प्रशासनलाई बारम्बार प्रयोग गर्न सुरु गर्यो। योग्यता नभएको व्यक्तिहरू, अनुभव नभएको व्यक्तिहरूलाई अवसर दिने काम भयो। शिक्षाको अनुभव भएको व्यक्तिलाई गृह प्रशासनको सचिव बनायौं। अर्थको अनुभव नै नभएको व्यक्तिलाई अर्थ सचिव वा गभर्नर बनाउँछौं। यस्तो भइसकेपछि कर्मचारीलाई जस्तो पनि प्रयोग गर्न हुन्छ भन्ने ग्राउन्ड स्वयम् कर्मचारीले दियो। ए हो रहेछ, कर्मचारीलाई मैले जसरी पनि परिचालन गर्न हुन्छ, यो मैले जे चाह्यो त्यो गर्ने मेकानिजम रहेछ भन्ने किसिमले राजनीतिले बोध गर्यो। यी दुई वटाको माखेसाङ्लोले पेसागत मूल्य मान्यताबाट पुरै विषयान्तर गर्यो। विषयान्तर गरिसकेपछि हामी भनेको बेलामा सेवा पाउँदैनौं। सेवामा अतिरिक्त मूल्य तिर्नुपर्छ। सेवामा मध्यस्थकर्ताहरू खोज्नुपर्छ। कर्मचारीले पनि म राजनीतिको छाता ओड्छु, राजनीतिको फेर समातेर प्रमोसन गर्छु भन्यो भने राज्यलाई घाटा हुन्छ। जनतालाई घाटा हुन्छ।
यसले गर्दा संस्थागत भ्रष्टाचार मौलायो नि सर है?
संस्थाको स्थायित्व पनि भएन। संस्थाको सदाचारिता पनि रहेन। समाज र संस्थाहरू सदाचारी भएनन्। त्यसैले भ्रष्टाचार मौलायो। कर्मचारीले सपना पनि शुद्ध देख्नुपर्छ।
अहिले समाज पनि अलि प्रदूषित भयो। हुन त हामीले समाजलाई दोष लगाउन नमिल्ने हो। समाजमा पनि पैदल हिँड्ने सचिवलाई कसैले मान्दैन।
कर्मचारी स्थायी सरकार हो भनिन्छ। उसले थुप्रै विषय बुझेको हुन्छ, राम्रो कर्मचारीले मन्त्रीलाई सही र गलत के हो भन्ने सुझाव पनि त दिन सक्छ नि है?
कर्मचारीसँग लामो अनुभव र योग्यता हुन्छ। कर्मचारी राजनीतिज्ञबाट निर्देशित त हुने हो। तर, निर्देशित हुने बाटो उसैले निर्धारण गरिदिने हो। उसको विज्ञताले, सूचनाले, प्रवाह गरेको सेवाले त्यो बाटो तय गरिदिनुपर्छ। आजीवन जनतासँग खेलेर आउने राजनीतिज्ञलाई त पेसागत ज्ञान र जानकारी पनि हुँदैन। त्यो हुनुपर्छ भन्ने पनि छैन। किनकि उ त जनादेश टिपेर आउने हो। उसले टिपेको जनादेशलाई कर्मचारीले सिस्टममा समावेश गरिदिने, यो कुरा गर्नु हुन्छ वा हुँदैन भनिदिने गर्नुपर्छ। हुने कुरालाई तत्काल कार्यान्वयन गरिदिने गर्नुपर्छ। गर्ने काम नै त्यही हो। तर, त्यो नगरीकन केही कर्मचारीहरू राजनीतिको वरपर घुम्ने गरिरहनु भएको छ। हजुरले भनेपछि भइहाल्छ भन्ने कर्मचारीको बानी छ। एउटाले हजुरले भने हुन्छ भनेर एउटा सचिव र महानिर्देशकले भन्यो र अर्को नभन्ने मान्छे चाहिँ योग्य मान्छे हो। त्यसैले राज्यमा तदर्थवादको विकास भयो। आसा निर्माण गर्न सकिएन। युवाहरूलाई रोजगारीको कुरा भएन। अर्थतन्त्र चलायमान भएन। हुँदाहुँदै कतिपय अवस्थामा त पेसागत क्षेत्रमा काम गर्ने व्यक्तिहरू नै सांसद, नीति निर्माता मन्त्री बने। राजनीतिज्ञ पार्टीका वर्कर हुन्छ। उनीहरू विचारको पार्ट, भूगोलको पार्ट र सिद्धान्तको पार्ट हुन्। उनीहरू भागमा विभाजित हुन्छन्। कर्मचारी भनेका अनिर्वाचित प्रतिनिधि हुन्। उनीहरू पार्टमा विभाजित हुँदैनन्। समग्र राज्य नै उनीहरूको कार्यक्षेत्र हो। त्यो राजनीतिले पनि सोच्न दिएन। यस्तो सोच्नुपर्छ भन्ने अन्तर्बोध कर्मचारीमा प नि भएन। कार्यकारी तहका कर्मचारीमा त्यो कुरा नदेखिएपछि अग्र पंतिको सेवा स्थलसम्म पुग्यो। त्यसैले अब सेवा स्थल पनि सेवा स्थल जस्तो भएन।
राष्ट्र सेवा गर्न पाउने र जीविको पार्जन गर्न सकिने सेवामा छु, भोली यो भन्दा बाहिर रहेर समाजमा जानु छ, त्यतिखेर राम्रो छवि भएका पूर्व कर्मचारीलाई मानिसले पछ्याइरहन्छन् भन्ने कुराको बोध पनि हुनुपर्यो नि है?
अहिले समाज पनि अलि प्रदूषित भयो। हुन त हामीले समाजलाई दोष लगाउन नमिल्ने हो। समाजमा पनि पैदल हिँड्ने सचिवलाई कसैले मान्दैन। ठूलो गाडी चढ्ने, ठूलो घरमा बस्ने, ठूलो भोजभतेर गर्ने, राम्रो गहना लगाउने, राम्रो घडी लगाउने, राम्रो कोट लगाउने, रेष्टु्रातिर गएर खाने व्यक्तिलाई बढी सम्मान गर्ने गर्यो। यस्तो सामाजिक प्रदूषणले कर्मचारीमा मैले किन धैर्यता लिनुपर्यो भन्ने किसिमको भावना विकास भयो।


















प्रतिक्रिया