सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णय नमान्ने र सँगै बस्न नसके पार्टी फुटाएर अलग भएर अघि बढ्ने प्रस्ताव गरेको दोहोर्याएका छन् ।
सोमवार बिहान आफ्नो निवासमा केही पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ओलीले यस्तो प्रस्ताव राखेको बताएका हुन् ।
‘ओलीले बैठकको केही काम छैन, बैठक बसेर के गर्ने ? बैठक किन काम छैन भन्दा मैले बैठकले गरेका निर्णयहरू मान्दिन । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बसेर निर्णय गर्नुस, मैले मान्दिन भन्नुभएछ,’ उनले भने ।
प्रचण्डको ब्रिफिङ उदृत गर्दै उनले थपे – ‘तपाईहरूले आफ्नै तर्फबाट बैठक बोलाउनु भयोभने म ठूलो एक्सन लिन्छु, त्यसको सामना गर्न तपाईंहरू तयार हुनुहोस् । शनिवार ओलीलाई भेट्न उनकै सरकारीनिवास बालुवाटारमा पुगेका प्रचण्ड ओलीले राखेको यस्तो प्रस्तावपछि अक्क न बक्क भएका थिए ।
श्रेष्ठले कर्णाली प्रदेश सरकारको मन्त्रिमण्डल पुनर्गठनको चर्चा चलेपछि अध्यक्ष प्रचण्डलाई आइतवार फोन गरेको खुलासा गरे । ‘हिजो चाहिँ कर्णाली प्रदेश सरकारको पुनर्गठनको चर्चा चलेपछि ओलीले प्रचण्डलाई फोन गर्नुभएछ,’ श्रेष्ठले भने, ‘फोनमा ओलीले तपाईहरूले कर्णाली प्रदेशमा मन्त्रिपरिषद पुनर्गठन गर्न लाग्नु भएको छ रे भन्ने सुनें । यदि त्यसो गर्नुभयो भने मैले चाल्ने कदमको सामना गर्न तयार हुनुहोस् भन्नुभएछ ।
ओलीले प्रचण्डसँगको फोनमै सँगै बस्न सकिन्न भने अलग भएर अघि जाउँ न त भनेर दोहोर्याएर भनेको श्रेष्ठले बताए ।
प्रतिक्रिया