काठमाडौं- आज काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको थियो। जनयुद्ध दिवसको दिन धेरैलाई काठमाडौंमा सुरक्षा व्यवस्था किन कडा पारिएको होला भन्ने लागेको पनि हुनसक्छ। तर, त्यसरी सुरक्षा व्यवस्था कडा पार्नुको कारण हो विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलन।
प्रसाईं नेतृत्वको राष्ट्र,राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज आफ्नो प्रथम स्थापना दिवस मनायो। काठमाडौंको भृकुटीमण्डपमा वृहत् कार्यक्रम गर्दै प्रसाईंले प्रथम स्थापना दिवस मनाएका हुन्। आज भृकुटी मण्डपमा आयोजित विशेष कार्यक्रममा देशका विभिन्न ठाउँबाट समर्थकहरूको उपस्थिति रहेको थियो।
प्रसाईंले आजको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दनमा सहभागी भइदिन आग्रह गरेका थिए। प्रसाईंले आफ्नो कार्यक्रममा पूर्व राजाको सहभागिता रहने दाबीसमेत गरेका थिए। पूर्वराजा शाह उनको कार्यक्रममा सहभागी भएनन्। उल्टै सपरिवार चितवनतर्फ गए। राजा र हिन्दु राष्ट्रको वकालत गर्दै आएका प्रसाईंले आफ्नो कार्यक्रममा दुवैको सहयोग हुने अपेक्षा गरेका थिए। तर, उनको अपेक्षा अपेक्षामै सीमित हुन पुग्यो।
राजा र राप्रपा दुवैबाट असहयोग भएपछि प्रसाईंले आफैँ राजर्षि शैलीमा प्रस्तुत भएका थिए। प्रसाईं लक्जरियस गाडीमा सवार थिए। उनका समर्थकहरूले मानव साङ्लो बनाएर सुरक्षा दिँदै भृकुटीमण्डपको कार्यक्रम स्थलमा प्रवेश गराएका थिए। प्रसाईंले गाडीबाटै आफ्ना समर्थकहरूलाई हात हल्लाएर हौसला प्रदान गरिरहेका थिए।

तस्बिर: दुर्गा प्रसाईंको समर्थनमा निकालिएको र्याली।
स्टेजमा पुगिसकेपछि उनले परेवा उठाएर उनले उनले कार्यक्रमको सुरुवात गरेका थिए। उनको कार्यक्रममा मिटरब्याज र सहकारी पीडितहरूको उलेख्य सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईंले भनेका थिए, ‘मिटरब्याज पीडितहरूको आँसुले शासकहरूलाई छ। यसले सात पुस्तासम्म असर गर्ने छ।’ उनले १ लाख मानिसले नागरिकता त्यागेको उल्लेख गर्दै नेपालीले दुईटा नागरिकता राख्न पाउनुपर्ने बताए।
कार्यक्रममा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीसहित एउटा विशेष समुदायका विभिन्न व्यापारिक ग्रुपको नाम लिएर देश डुबाउन उनीहरू संलग्न रहेको आरोप लगाएको भिडियो पनि सार्वजनिक गरिएको थियो।
दुबोको माला लगाएर आएका प्रसाईंले बम्बईको कोठीबाट बेचिएका चेलीबेटीलाई बचाउने प्रधानमन्त्री यो देशमा चाहिएको उनले बताए। तस्करहरूलाई घुँडा भाँचेर अस्पतालमा राख्नुपर्ने पनि उनले बताए। आफ्नो अभियानले हारे नेपालीहरूले सडकमा पुग्नुपर्ने दाबी उनले गरे।
बैंकहरू मिटर ब्याजमा परिणत भएको आरोप पनि उनको थियो। उनको यो ठाँट र शैली हेर्दा लघुवित्त पीडितको बुई चढेर गणतन्त्रका ‘राजा’ बन्न खोजेको जस्तो देखिन्थ्यो।
प्रसाईंले विरोधीहरूले आफूलाई कालोमोसो दल्लान् भनेर एक जोर लुगा साथमा बोकेर हिँड्ने गरेकोसमेत बताएका छन्। प्रसाईंले यसअघि गत मंसिर ७ गते बल्खुमा शक्ति प्रदर्शन गरेका थिए ।

तस्बिर : सुरक्षार्थ खटिएका प्रहरी।



















प्रतिक्रिया