काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सचिव भीम उपाध्यायसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समय अनुसन्धानपछि आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आयोगले आइतवार पूर्व सचिवहरू सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध पनि विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. सञ्जय शर्मा र अर्थ मन्त्रालयका तत्कालीन सहसचिव तथा तत्कालीन बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेलविरुद्ध ६ करोड ९७ लाख ८३ हजार १७८ रुपैयाँ बिगो कायम गरेको छ । त्यसैगरी खानेपानी मन्त्रालयका तत्कालीन सचिव उपाध्यायविरुद्ध ४ करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ बिगो कायम गरिएको छ ।
यस्तै तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुरविरुद्ध ६० करोड ४९ लाख १९ हजार ८८४ रुपैयाँ बिगो कायम गरिएको आयोगले जनाएको छ ।
त्यसैगरी मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङविरुद्ध ११ करोड ९ लाख १७ हजार ४५८ रुपैयाँ बिगो कायम गरिएको छ । यस्तै तत्कालीन बोर्ड सदस्य चन्द्रबहादुर थापाविरुद्ध ७१ करोड ५८ लाख ३७ हजार ६४३ रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरिएको आयोगका प्रवक्ता घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया