Logo

प्रमुख समाचार

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय, आज देशभर वर्षाको सम्भावना



काठमाडौं- पश्चिमी न्यूनचापीय प्रणाली थप सक्रिय हुँदा आजदेखि देशका धेरै स्थानमा बदली र वर्षा सुरु हुने भएको छ। शुक्रबारसम्म नेपालको धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ।

पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा आजदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

बागमती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

बिहीबारदेखि शुक्रबारसम्म बागमती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आजदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानका साथै लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मंगलबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती र कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार बागमती, मधेस र कोसी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

शुक्रबार गण्डकी, बागमती र कोसी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। शनिबारदेखि क्रमशः मौसममा सुधार हुँदै जाने विभागले स्पष्ट पारेको छ।

उक्त मौसम प्रणालीको असरले तापक्रममा केही गिरावट आउँदा चिसो बढ्नसक्ने सम्भावना रहेको विभागले जनाएको छ। त्यसैले वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, हवाई तथा सडक यातायात प्रभावित हुनसक्ने विभागले बताएको छ।

प्रकाशित मिति : फाल्गुन ७, २०८० सोमबार  ६ : ४० बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।