Logo

प्रमुख समाचार

सैनिक शासनभन्दै नागरिकमाथि महानगरको डण्डा, प्रशासकीय अधिकृतको पाण्डेसँग सोधपुछ



काठमाडौं- बुधबार समसाँझ काठमाडौंको सुन्धारा क्षेत्रमा निस्किएका फुटपाथ व्यवसायीलाई काठमाडौं महानगर प्रहरीले निर्मम कुटपिट गरेको पाइएको छ। कतिपय भिडियोहरू सार्वजनिक भएका छन्। जसमा नगर प्रहरीहरूले महिलामाथि निर्मम भएर लाठी प्रहार गरेको देख्न सकिन्छ।

फुटपाथमा निस्किएका व्यवसायीलाई उनीहरू लाठी प्रहार गर्दा कयौं व्यवसायी घाइते भएका छन्। केही घाइतेहरू अस्पतालमा उपचार भइरहेको छ भने केही डिस्चार्ज भएका छन्।

घाइते भएकाहरूलाई प्रहरीले बुधबार साँझ ट्रमा सेन्टरमा पुर्‍याएको थियो। व्यवसायी नानीमैया बस्नेतको टाउको र मुखमा चोट लागेको छ। यतिबेला उनको उपचार जारी छ।

साँझबाट सुन्धारा नेपाल टेलिकम भवनको अगाडिपट्टिको फुटपाथमा विभिन्न सामान राखेर व्यवसाय गर्दै आएहरूलाई महानगर प्रहरी बलको टोलीले बल प्रयोग गरी हटाउने प्रयास गरेपछि स्थिति झडपको अवस्थामा पुगेको थियो।

झडपमा परेर १० जना महानगर प्रहरी घाइतेकोमा उनीहरू उपचारपछि डिस्चार्ज भइसकेका छन्।

त्यस क्षेत्रमा राति फुटपाथ पसल नराख्न भनेर महिनौंदेखि माइकिङ गर्दै आएकको उनको भनाइ छ।

घटनापछि चौतर्फ विरोध भइरहेको छ। यहीबीच महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप भएको घटनाबारे प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सोधपुछ गरेका छन्।

बिहीबार बिहान परियारले महानगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेलाई बोलाएर घटनाबारे सोधपुछ गरेका हुन्।

व्यवसायीले महानगर प्रहरीमाथि ढुंगा प्रहार गरेपछि बल प्रयोग गरेको पाण्डेले बताएका छन्।

‘हाम्रो प्रहरी टोली बुधारबार साँझ साढे सात बजे टेलिकम अगाडिको फुटपाथमा पसल नराख्नु होला भनेर माइकिङ गरिरहेको थियो। व्यवसायीका सामान नियन्त्रणमा लिएका थिएनौं। व्यवसायीहरूले महिलाहरुलाई अगाडि सारेर पछाडिबाट ढुंगा र इँटा हान्न थाले। हाम्रो एक जना एसपीको मुखमै लाग्यो। महानगर प्रहरीमाथि पनि लछारपछार भयो। हामीले त्यसपछि प्रतिरक्षा गरेका हौँ,’ उनले भने।

सुन्धारा क्षेत्रमा सडक व्यापार गर्दै आएका स्ठानीयले गाडिमा राखिएपछि पनि आफूहरूमाथि कुटपिट भएको बताएका छन्। गाडीभित्र राखेपछि पनि हानिएको ती पीडितले बताए।

सैनिक शासन तिमीहरूलाई थाहा रहेनछ भन्दै गाडीभित्र लाठी र लात्तीले प्रहार गरेको पीडितहरूको गुनासो छ।

प्रकाशित मिति : फाल्गुन १७, २०८० बिहीबार  १ : ४९ बजे

549
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।