Logo

राजनीति

ओली र प्रचण्डको बालुवाटार रस्साकस्सीले देखाएको नेकपाको बाटो 



सामाजिक सञ्जालमा कमै राजनीतिक विषय उठाउने नेकपा महासचिव विष्णु पौडेलले आइतबार फेसबुक स्टाटस लेखे, ‘यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ ।’

महासचिव पौडेलले सँगसँगै यो पनि लेखेका छन्, ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन ।’ दुई अध्यक्षबीच भइरहने झगडाका कारण के नेकपा फुटको संघारमा पुगेकै हो त ? त्यो परिस्थितिलाई महासचिवको फेसबुक स्टाटसले मात्र होइन, प्रधानमन्त्रीको भनाइले पनि संकेत गरेको छ । बैठकको माग राख्दै शनिबार भेट्न पुगेका अध्यक्ष पुष्पकमल दाहाललाई अध्यक्ष एवं प्रधामन्त्री केपी ओलीले भनिदिएछन्, ‘यही अवस्थामा रहनुभन्दा सल्लाहमै अलग–अलग पार्टी चलाएर जाऔं । सल्लाहले नै फुटाऔं ।’

दाहालले आफ्नो निवासमा समर्थक नेताहरूलाई बोलाएर आइतबार यसबारे जानकारी दिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । दुई अध्यक्षको शक्ति संघर्षले नेकपालाई एकताको साढे दुई वर्षमै विभाजनको डिलमा पुर्‍याएको हो।

यसलाई उक्साउन र एकता बचाउन दुवै खाले रणनीतिमा पार्टीभित्र विभिन्न समीकरण बन्न थालेका छन् । यही क्रममा दुवै अध्यक्षले निकट नेताहरूसँग तीव्र छलफल चलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान आफूनिकट नेता ईश्वर पोखरेल, पौडेल, शंकर पोखरेल, सुवास नेम्बाङ र सचिवालयका सल्लाहकारहरूसँग संवाद गरे । शनिबार मात्रै गण्डकी प्रदेश फर्केका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङलाई ओलीले काठमाडौं फर्किन निर्देशन दिएका छन् ।

उता, दाहालले बहुमत सचिवालयका सदस्यहरूको भेला आइतबारै खुमलटारमा गरे । छलफलमा गृहमन्त्री रामबहादुर थापासहित ६ जना सहभागी थिए । त्यही क्रममा दाहालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे अवगत गराएका हुन् । सधैं किचलो र झैझगडा गरेर एकै पार्टीमा बस्नुभन्दा अलग्गिनु उचित हुने प्रधानमन्त्रीको भनाइ थियो ।

 ‘पार्टी नेताहरूले बैठक राख्न माग गरिरहनुभएको छ । प्रचण्ड कमरेडले प्रधामन्त्रीसँग समसामयिक विवादास्पद विषयमा कुरा प्रस्ट पार्न सचिवालय बैठक बोलाऔं भन्नुभएछ’, खुमलटारमा दाहालले गरेको ब्रिफिङ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘तर, प्रधानमन्त्रीले बैठक राख्दिनँ भन्नुभएछ । 

केन्द्रीय कमिटी, स्थायी समिति वा सचिवालय जुनसुकै बैठक राखेर कुनै निर्णय गरे पनि म मान्दिनँ भन्नुभएछ । बरु तपाईंहरूले बैठक बसेर निर्णय गर्नुभयो भने त्यसविरुद्ध एक्सनमा जान्छु भन्नुभएछ । अब यही तरिकाबाट पार्टी कसरी अगाडि जान सक्छ रु यही अवस्थामा रहनुभन्दा सल्लाहमै अलग–अलग पार्टी चलाएर जाऔं । सल्लाहले नै फुटाऔं भन्नुभएछ ।’

दाहालको ब्रिफिङमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता श्रेष्ठ र गृहमन्त्री थापा सहभागी थिए । ‘प्रधानमन्त्री अब सँगै जान सकिँदैन मात्रै भन्नुहुन्छ, अब भन्नुस् के गर्ने ?’, दाहालले सचिवालयका सदस्यहरूलाई सोधेका थिए ।

प्रत्युत्तरमा बाँकी नेताले एकता कुनै हालतमा भंग हुन दिन नहुने सुझाव दिएका थिए । उक्त भेलाले पार्टी बैठक बोलाउन ओलीमाथि दबाब बढाउने निष्कर्ष निकालेको छ । त्यसका लागि आवश्यक परे सामूहिक रूपमै प्रधानमन्त्रीसँग भेट्ने र कुरा राख्ने तय भएको छ । अन्नपूर्ण पोस्टबाट

प्रकाशित मिति : कार्तिक १९, २०७७ बुधबार  १० : १० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।