Logo

समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु



काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालयकाअनुसार चितवनको भरतपुर महानगरपालिका-७ माच्छापुच्छ्रे चोकमा ना.४ ख ५८१५ नम्बरको बसको ठक्करबाट १० वर्षीय आरूष पौडेलको सोमबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी झापाको झापा गाउँपालिका-४ मंगलवारेस्थित सडकमा मे.३ प ५९२१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय शम्भु कार्कीको सोमबार साँझ मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-१८ स्थित सडकमा पनि लु.२ ख २१४२ नम्बरको बसले युपी ४० एजे ७२३३ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक भारत उत्तर प्रदेश घर भएका २० वर्षीय अनिल कुमारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाको मिथिला नगरपालिका-२ हजरा चोकस्थित सडकमा ज.४ प १९४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित होटल संचालन गरी बस्ने ४० वर्षीय चन्दन पटेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन २२, २०८० मंगलबार  १२ : ०२ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।