Logo

प्रमुख समाचार

परराष्ट्रमन्त्री श्रेष्ठले रुसका विदेशमन्त्रीसँग टेलिफोन संवाद गर्ने



काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी विदेशमन्त्री सर्गेइ लावरोभसँग टेलिफोन वार्ता गर्ने भएका छन् ।

रुसी सेनामा भर्ती भएका नेपाली नागरिकका विषयमा छलफल गर्न उपप्रधानमन्त्री श्रेष्ठले समकक्षी सर्गेइसँग टेलिफोन वार्ता गर्न लागेका हुन् ।

मन्त्री श्रेष्ठले मन्त्री लावरोभसँग सवा दुई बजे कुराकानी गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए । ती सबैलाई स्वदेश फर्काउन सरकारमाथि दबाब छ । रुसी सेनामा रहेका नेपालीहरूका परिवारले परराष्ट्रको कन्सुलर सेवा विभागमार्फत आफ्ना मान्छे फिर्ता ल्याई दिनका लागि निवेदन दिएका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ११५ जनाभन्दा बढी परिवारले त्यस्तो निवेदन दिएका छन् । सरकारले युक्रेनमा बन्धक बनाइएका चार जना तथा रुसी सेनामा कार्यरत सबै नेपालीलाई फर्काउन सरकारले प्रयास गरिरहेको छ । यसअघिका परराष्ट्र मन्त्री एनपी साउदले पनि पटक–पटक त्यसका लागि प्रयास गरेका थिए ।

युगान्डामा भएको शिखर सम्मेलनमा भाग लिन गएका बेला तत्कालीन परराष्ट्र मन्त्री साउदले त्यहाँका उपविदेश मन्त्री सर्गेई वर्सिनिनसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन २४, २०८० बिहीबार  १ : ३६ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।