काठमाडौं । नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छे पनि भएकाले शुद्ध नभएको टिप्पणी गरेकी छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सत्तारुढ गठबन्धन शुद्ध नभएको बताएकी हुन् ।
उनले गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै बहुमत पुर्याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको बताइन् । ‘जनतालाई अलि बढी राहत हुनेगरी काम गरौं । त्यही ढंगले बजेट निर्माण गरौं । आर्थिक स्रोत जुटाउँ र कार्यक्रमहरु थप्दै जाउँ । आर्थिक मन्दी भएको छ, आर्थिक गतिविधि बढाऔं भन्दाखेरी अर्थ सम्हालेको मन्त्रीले मान्दैन । मन्त्री फेरौं भन्दा नेताले मान्दैन । त्यसैले नयाँ गठबन्धन बन्यो । त्यो पनि शुद्ध त छैन । अब जीवन, व्यवहारले पुष्टि गर्छ । केही मान्छे त विवादित छन् नि ! कुनै गल्ती, कमजोरी देखिएमा नछोप्ने, छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धनको सरकार भएको छ । यसले एउटा राजनीतिमा राष्ट्रिय रुपमा मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा पनि हलचल ल्याएको छ,’ उनले भनिन् ।
भुसालले सत्तारुढ गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनी राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा तरङ्गित गरिएको भन्दै सो गठबन्धन यहीँका दल र नेताहरूले बनाइएको बताइन् । उनले भनिन्, ‘यसले एउटा राजनीतिमा राष्ट्रिय रूपमा मात्रै होइन, अन्तर्राष्ट्रिय रूपमा पनि हलचल ल्याएको छ । यो नितान्त गठबन्धनका दलहरू बसेर गरिएको हो । तर यसलाई कसैले चाइना कार्डले बनायो कि, कसैले उताको बनायो कि यता बनायो कि भन्ने केही अन्तर्राष्ट्रिय तरङ्ग पनि यसले ल्याएको छ । तर होइन । यो नितान्त यहीँका दल, नेता बसेर बनाएको गठबन्धन हो । र यो कुनै नयाँ सरकार होइन । पुनर्गठन हो ।’
उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभूति दिलाउने सङ्कल्पसहित गठबन्धन बनाइएको उल्लेख गर्दै त्यो पूरा नभएमा यहीँ गठबन्धनमा बसिरहने कुरा नहुने समेत प्रस्ट पारिन् ।
‘हामी के स्पष्ट हुनुपर्छ भने काम गर्ने, कामको गति अगाडी बढाउने र केही निष्कर्ष देखिने, जनताले जीवन व्यवहारमा सुशासनको अनुभूति गर्ने, जनताको जीवनमा आर्थिक परिवर्तनका अनुभूतिहरू आउनुपर्ने, शिक्षा, स्वास्थ्य, रोजगारमा केही नयाँपन आउने गरेर गर्ने संकल्पसित यो नयाँ गठबन्धन बनाइएको हो । त्यो नहुँदासम्म यहीँ बस्ने, यहीँ टिक्ने भन्ने पनि हुन्न’ भुसालले भनिन् ।
उपाध्यक्ष भुसालले वर्तमान गठबन्धन विगतको भन्दा सजातिय भएको पनि बताइन् । उनले गठबन्धनमा वामपन्थीहरूको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने बताइन् । उनले दीर्घकालसम्म देशमा दुईवटा कम्युनिस्ट पार्टीहरू समानान्तर ढंगले जान नसक्ने भन्दै सहकार्यलाई पार्टी एकताको चरणसम्म पुर्याउनुपर्ने बताइन् । उनले देशमा एउटा वामपन्थी धार र अर्को प्रजातान्त्रिक धार हुनुपर्ने बताइन् ।
उपाध्यक्ष भुसालले महिलाहरूले ५० प्रतिशत अधिकार प्राप्तिका लागि सङ्घर्ष जारी राख्नुपर्ने बताइन् । उनले राज्यको हरेक निकायमा ३३ प्रतिशत अधिकार प्राप्त गर्नका लागि पनि आफूलाई क्षमतावान् बनाउँदै लानुपर्नेमा जोड दिइन् । संविधानले दिएका सबै अधिकारीहरुलाई कार्यान्वयन गर्न लाग्नुपर्ने उनको भनाई छ ।





















प्रतिक्रिया