Logo

राजनीति

भारतीय सेनाध्यक्ष नरवणे काठमाडौँ आइपुगे



भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे बुधबार काठमाडौँ आइपुगेका छन् । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा आएका सेनाध्यक्षको बलाधिकृत रथी प्रभुराम शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत अभिवादन गरेको जानकारी दिए । नरवणे नेपालको तीनदिने भ्रमणका लागि आएको जनाएका छन् । 

नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुरुप उनी नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न यहाँ आएको जनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन् । सोही अवसरमा राष्ट्रपतिसँग उनको भेटवार्ता हुनेछ ।

स्थलसेनाध्यक्ष नरावणेले बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछन्। त्यसलगत्तै सैनिक मुख्यालय जङ्गी अड्डामा उनले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरावणेसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

सोही अवसरमा दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदान सम्बन्धी तह्रौँ बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरावणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेछन् । उनको सम्मानमा भोलि नै जङ्गी अड्डामा रात्रीभोज आयोजना हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थलसेनाध्यक्ष नरावणेले शुक्रबार औपचारिक भेट गर्नेछन् ।

नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरावणेले १८औँ सेनापति हुन् । नेपाली सेनाले स्थलसेनाध्यक्ष नरावणेको भ्रमणको मुख्य उद्देश्य परम्पराको निरन्तरता नै भएको नेपाली सेनाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार १३:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।