Logo

प्रमुख समाचार

आज तीनवटा प्रदेशमा वर्षाको सम्भावना



काठमाडौं- देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको हो।

पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायूको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा वर्षाको सम्भावना रहेको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागको मौसम मुख्यतया सफा छ।

विभागले आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

लुम्बिनी प्रदेशको थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जानकारी दिएको छ। गण्डकी प्रदेशमा केही स्थानमा भने वर्षाको सम्भावना छ।

विभागका अनुसार राति देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने विभागको भनाइ छ। त्यसैले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

स्थानीय वायु सक्रिय हुन थालेकाले हावाहुरीको समेत सम्भावना रहेकाले यसबाट बच्न सतर्क रहन पनि विभागको आग्रह छ। प्रि–मनसुन सुरु भएसँगै स्थानीय वायु सक्रिय हुँदा हावाहुरी र मेघगर्जनसहित चट्याङ पर्ने हुन्छ। प्रि–मनसुन सक्रिय भएकाले हावाहुरी चल्न पनि सुरु भएको हो।

 

प्रकाशित मिति : चैत्र १, २०८० बिहीबार  ६ : ५३ बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।